Logo

‘प्रहरीले असहयोगले अपहरणकारीबाट मारिए दुई युवा’



जनकपुरधाम, माघ १० । जनकपुरधामका दुई युवकको अपहरणपछि भारतमा हत्या भएपछि मृतकका परिवारजन आजदेखि आन्दोलनमा उत्रिने भएका छन् । मृतकका परिवारजन र स्थानीयबासीले जनकपुरधाम–९ पिडारी चोकमा प्रदर्शन गरि सोमबार केही घण्टासम्म चक्काजाम गरेका थिए ।

उनीहरुले प्रहरी प्रशासनको कमजोरी र लापरवाहीका कारण युवकद्वयको हत्या भएको भन्दै प्रदर्शन गरेका छन् । उनीहरुले जनकपुरधामका युवाद्वय विष्णु साह र रोहित साहको हत्या गरी फरार भएका हत्यारालाई अनुसन्धानको दायरामा ल्याई कडा कारवाही गर्न स्थानीय प्रशासनसँग माग गरेका छन् ।

पीडित परिवारले अपहरणकारीको फोन आउँदा आफूहरुले उसको कल रेकर्ड तुरुन्त प्रहरीलाई पठाउने गरे पनि अहिले प्रहरीले झुठो बोलेर घटनालाई मोड्न थालेको आरोप लगाएका छन् । विष्णु र रोहितको अपहरणपछि प्रहरीले खोजतलासमा सहयोग नगरेको परिवारजनको आरोप छ । ‘यदि प्रहरीले घटनाको अनुसन्धान गरेको भए दुबैजनाको ज्यान जोगिने सम्भावना थियो ।’ आन्दोलनमा सभागी मध्ये एकले भने ।

उनीहरुले स्थानीय प्रशासनको लापरबाहीले हत्या भएको भन्दै गृहमन्त्री रवि लामिछानेको राजीनामाको समेत माग गरेका छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–८ बस्ने जगदिश साहका २२ वर्षीय छोरा रोहित साह र वडा नम्बर–१३ बस्ने रामबाबु साहका २५ वर्षीय छोरा विष्णु साहको हत्या गरिएको अवस्थामा आइतबार बिहान भारतको बिहार राज्यको परिहारस्थित पर्सा गाउँको पश्चिमतर्फको चौरमा शव फेला परेको थियो ।

दुईसाता अघि दुबैजना भारतको सितामढी जिल्लाको बेला परिहार बस्ने आफ्ना आफन्तको घर गएका थिए । त्यहीबाट गत पुस २७ गते एकाएक बेपत्ता भएका दुबैजनाको परिवारलाई अपरहरणकारीले गत सोमबारसम्म भारतीय नम्बरबाट फोन गरी ५० लाख रुपैयाँ फिरौती मागेका थिए ।

अपहरणकारीले विष्णुको आवाज रेर्कड गरेर उनका आफन्तलाई फोनबाट सुनाएका थिए । परिवारले अपहरणकारीलाई २० लाख दिन राजी भएका पनि थिए । अपहरणकारीले २० लाख रुपैयाँ लिएर सर्लाहीको मलंगवा नाका नजिक बोलाएपछि परिवारजनले प्रहरीलाई जानकारी गरायो । तर, गत मंगलवारदेखि अपहरणकारीको मोबाइलमा सम्पर्क हुन छोडेको थियो ।

यता, धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले अपहरणको जानकारी पश्चात भारतीय प्रहरीसँग समन्वय गरेर स्थानीय प्रशासन खोजतलासमा सक्रियपूर्वक लागेको दावी गरे । घटनापश्चात प्रहरीले अहिलेसम्म ९ जनालाई पक्राउ गरेको छ । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले भारत र नेपालका गरी ९ जनालाई पक्राउ गरिएपनि उनीहरुको नाम अहिले गोप्य राखिएको छ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्