काठमाडौं, ११ माघ । नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्वमन्त्री देवेन्द्र पौडेलले नेपाल र भारतबीच हजारौं वर्षको पूरानो सम्बन्ध रहेको उल्लेख गर्दै यो सम्बन्ध अझ प्रगाढ बनाउनुपर्ने बताए । उनले भने,‘हाम्रो बीचमा सांस्कृतिक सम्बन्ध छ । यो सांस्कृतिक सम्बन्धलाई आगामी दिनमा निरन्तरता दिनुपर्छ । धार्मिक सम्बन्ध पनि प्रगाढ छ । आर्थिक रुपमा त्यस्तै सम्बन्ध छ । व्यापार सम्बन्ध छ । पारवान सम्बन्ध छ । सामाजिक रुपमा पनि हाम्रो सम्बन्ध राम्रो छ । नक्शाको विषय उठेको छ । हामी नजिक छौं, समस्या पनि छन् । भारतसँग नजिक भएकोले सिमा विवाद उठेको छ । यसलाई अब वार्ता, सहमति र सम्वादको माध्यमबाट हल गर्नुपर्छ । नयाँ प्रकारले सम्बन्ध अघि बढाउनुपर्छ ।’
पौडेलले आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारले विशेषगरेर तीन वटा कुरामा फोकस गरेको भन्दै त्यसमध्ये छिमेकसँग सन्तुलिन सम्बन्ध राख्नेपनि रहेको सुनाए । उनले भने,‘सरकारले पहिलो कुरा सुशासनको प्रत्याभुति गर्ने भनेको छ, दोस्रो कुरा थलथलिएको प्रणालीलाई सुधार गर्ने । र, तेस्रो भनेको मित्रराष्ट्रहरुसँगको सम्बन्धलाई सुधार गर्ने । यो सरकारको प्राथमिकताभित्र पर्ने विषय पनि हो । आजको सम्बन्ध भनेको आर्थिक कुटनीति हो । डिजिटल र आइटीको सम्बन्ध हो । युग र प्रविधिको विकासले हामी अब नयाँ ढंगले अघि बढ्नुपर्छ । त्रुटि भएको ठाउँमा कुटनीतिक तवरले हल गर्नुपर्छ ।’
उनले नेपालमा विजुली उत्पादन बढि भएर अब बजारको समस्या आइरहेको कोट्याए । उनले भने,‘यसको लागि बजार सहजीकरण गर्न भारतले भूमिका खेल्नुपर्छ । अहिलेको सरकारले सम्बन्धको हिसाबले गर्दा भारतीय पक्षसँग त्यो प्रकारको कुरा राख्छ । हामीबीच धेरै बिग्रिएको छैन् । धेरै सप्रिएको पनि छैन् । ठीकै सन्तुलनमा छौं । असंलग्नता र पञ्चशीलको आधारमा हामी हाम्रो विदेश नीति सञ्चालन गर्छौं ।’