काठमाडौँ,१६ माघ । मुटुरोगको रोकथाम, निदान, उपचार तथा हृदयरोगीको पुनःस्थापनाका लागि आवश्यक उच्चस्तरीय स्वास्थ्य सेवा सर्वसुलभरुपमा स्वदेशमा नै प्रदान गरी हृदयरोगीलाई मानवोचित जीवनयापन गर्न सक्षम तुल्याउन तथा हृदयरोगसम्बन्धी उच्चस्तरीय अध्ययन र अनुसन्धानका लागि आवश्यक दक्ष जनशक्ति तयार गर्ने मुल उद्देश्य लिइ २०५२ सालमा यस केन्द्रको स्थापना भएको हो । स्थापनाकालमा नौ श्ययाबाट आफ्नो सेवा सुरु गरेको यस केन्द्रमा हाल दुई सय ७० श्यया सञ्चालनमा रहेको छ । प्रारम्भमा मुटुरोगसम्बन्धी सामान्य उपचारबाट सेवा सुरु गरेको यस अस्पतालले समयको अन्तरालसँगै मुटुरोगसम्बन्धी विभिन्न किसिमका गुणस्तरीय विशेषज्ञ उपचार सेवाहरु सर्वसुलभरुपमा उपलब्ध गराउँदै आइरहेको छ । सीमित स्रोत र साधनबाट सुरु भएको यस केन्द्र हाल वैज्ञानिक प्रविधि, दक्ष जनशक्ति तथा विश्वस्तरीय अत्याधुनिक उपकरणले उच्चस्तरीय विशिष्टिकृत कार्डिक केन्द्रका रुपमा आफूलाई स्थापित गर्न सफल भएको छ । मुटुरोगको निदान, उपचार र रोकथाममा केन्द्रले खेलेको भूमिका उदाहरणीय रहेको छ ।
विसं २०५२ असार २६ राष्ट्रिय हृदय केन्द्रका रुपमा स्थापना भएको यो केन्द्रलाई सरकारले २०५२ भदौ ८ मा बाँसबारी छाला जुत्ता कारखानाको जमिन हस्तान्तरण गरेको थियो । विसं २०५३ भदौ १९ मा यस केन्द्रको नाम शहीद गङ्गालाल श्रेष्ठको नामबाट शहीद गङ्गालाल राष्ट्रिय ह्दय केन्द्र राखियो । विसं २०५४ पुस १५ मा बहिरङ्ग र २०५६ वैशाख १६ मा नौ श्ययाको बिरामी सेवा सुरु गरेको थियो । विसं २०५८ भदौ २० मा ६० श्ययाको इआर, ओटी, आइसियु, सिसियु, क्याथल्याबसहितको पूर्णरुपमा क्रियाशील अस्पतालको औपचारिकरूपमा उद्घाटन भएको थियो ।
विश्वस्वास्थ्य सङ्गठनको पछिल्लो अध्ययनले इस्केमिक हार्ट डिजिजलाई विश्वकै सबैभन्दा ठूलो प्राणघातक रोगका रुपमा देखाएको छ । पछिल्ला दिनमा नेपालमा समेत रोगका बिरामी तथा यसका कारण हुने मृत्यु बढिरहेका सन्दर्भमा केन्द्रले प्रदान गर्दै आइरहेका उपचारात्मक तथा प्रवद्र्धनात्मक सेवा र कार्यक्रमका कारण केन्द्र स्थापनाको उपादेयता बढ्दै गएको देखिन्छ । देशमा बढ्दो मुटुरोगीको उपचार, निदान अभिभाराका साथ गुणस्तरीय सेवा प्रदान गर्ने उपचारको क्षेत्रमाछुट्टै पहिचान बनाउन केन्द्र सफल भएको छ । देशकै प्रथम हृदय केन्द्रका रुपमा स्थापित शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले हिजो २७ औ वार्षिकोत्सव मनाएको छ ।
वार्षिकोत्सवका अवसरमा केन्द्रलाई गुणस्तरीय उपचार पद्धतिमार्फत एक विश्वासिलो विशिष्टिकृत अस्पतालको रुपमा विकास गर्नुपर्नेमा जोड दिइएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लाई शैक्षिक प्रतिष्ठानका रूपमा विकास गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । केन्द्रको २७औँ वार्षिकोत्सव समारोहमा बोल्दै प्रधानमन्त्रीले यसको प्रक्रियाबारे सरकारले पनि गम्भीरतापूर्वक लिएको बताउनु भएको थियो । यसले देशभरिका नेपाली जनताको आशा र भरोसाको केन्द्रका रूपमा स्थापित यस केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकसित गर्न उत्साह जगाएको छ । प्रधानमन्त्रीले सातै प्रदेशमा विशेष स्वास्थ्य क्षेत्रसहित प्रदेश अस्पतालहरू निर्माण गरिने र त्यसमा मुटुरोगको युनिट पनि राखिने बताउनु भएको थियो । यसै सन्दर्भमा केन्द्रका कार्यकारी निर्देशक डा चन्द्रमणि अधिकारीसँग राससका आलेख शाखा प्रमुख कृष्ण अधिकारीले गर्नुभएको कुराकानी ः
नेपालमा मुटुको रोगको अवस्था कस्तो रहेको छ ?
विश्वव्यापीरुपमा नसर्ने रोगहरुमध्ये मुटुरोग एक प्रमुख स्वास्थ्य समस्याका रूपमा देखिएको छ । यसका मुख्य कारणमध्ये मानिसको जीवनशैली पनि एक हो । यसबाट करोडौँ मानिस प्रभावित हुँदै आएका छन् र लाखौँ मानिसले अकालमै जीवन गुमाइरहेका छन् । मुलुकमा पछिल्ला वर्षमा जीवनशैलीको परिवर्तन सँगसँगै मुटुरोगसम्बन्धी समस्या पनि वृद्धि हुँदै गइरहेको तथ्याङ्कले पुष्टि गर्दछ ।नेपालमा पनि मुटुका रोगीको सङ्ख्या दिन प्रतिदिन बढ्दै छ । पहिलेको र अहिलेको रोगको प्रकृति भने फरक छ । पहिले मुटु बाथरोगीको सङ्ख्याबढी थियो भने पछिल्लो समय ह्दयाघातको सङ्ख्याबढ्दै गएको छ । पहिले ५० वर्षभन्दा बढी उमेर समूहका व्यक्तिमा यो समस्या धेरै हुने गरेकामा अहिले २०÷२५ वर्षकै व्यक्तिमा समस्या आउन थालेको छ ।
मुटु बाथरोग र हृदयाघातको अवस्थामा के भिन्नता हुन्छ नि ?
बाथ मुटु रोग गरिबी, अशिक्षा, तल्लोस्तरको जीवनस्तरका मानिसमा देखिन्थ्यो । गरिब देशमा ठूलो समस्या थियो । प्रायः धनी देशमा बाथ मुटु रोग उन्मुलन भइसकेको छ । मानिसको आर्थिकस्तरमा सुधार आएपछि यो समस्या कम भएको छ । सहरी क्षेत्रमा कम हुँदै गएको छ । तर व्यायाम, तयारी खानेकुरा, चिन्तायुक्त जीवनशैली, काममा बढी व्यस्तता, सुर्ती तथा मदिराको सेवनले हृयादयाघातका मुटुरोगीको सङ्ख्या बढ्न थालेको छ । अन्य देशको तुलनामा नेपालमा हृदयरोग मृत्युको पहिलो कारण बनेको छ । गङ्गालालको तथ्याङ्क हेर्दा पनि यस्तै देखिन्छ ।
ग्रामीण क्षेत्रमा मुटुरोगको उपचार सेवालाई विस्तार गर्न केन्द्रले के गर्दैछ ?
मुटु रोगको समस्या पहिले सहरमा बढी छ भनिन्थ्यो तर अहिले गाउँमा पनि बढ्न थालेको छ । त्यसैले यसको उपचार सेवालाई गाउँगाउँसम्म विस्तार गर्न आवश्यक छ । मानिसलाई मुटुको समस्या आउन नदिन जनचेतना अभिवृद्धि गर्नुपर्ने देखिन्छ । यसका लागि केन्द्रमा छुट्टै डिपिसिसिआर विभाग छ, यसले स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धिका कामहरु गर्छ । जनताको आचरण, जीवनशैली बानी व्यवहारमा परिवर्तन गरी स्वस्थ जीवनयापन गर्नमा जनचेतनामूलक सन्देश प्रवाहमा जोड दिएको छ । जनकपुरमा केन्द्रको शाखा विस्तार गरेका छौँ, अन्यत्र पनि क्रमशः विस्तार गर्ने योजना छ ।
विपन्न जनताको पहुँचसम्म मुटुरोगको उपचार सेवा पु¥याउन केन्द्रले के–कस्ता कार्यक्रम सञ्चालन गरेको छ ?
विभिन्न संस्थाहरुको सहकार्यमा केन्द्रले देशका विभिन्न स्थानमा नै शिविर सञ्चालन गर्दै आएको छ । केन्द्रले गत आवमा देशका विभिन्न जिल्लामा मुटुरोगको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी तीन हजार ६०० भन्दाबढी बिरामीको मुटु परीक्षण गरेको छ । शिविरमा मुटुको भल्भमा समस्या देखिएका शुल्क तिर्न नसक्ने बिरामीहरुलाई काठमाडौँ बोलाएर निःशुल्क उपचार गर्ने गरिएको छ । कतिपयलाई विपन्न नागरिक उपचार कोषबाट उपचार गरिएको छ । केन्द्रमा सञ्चालित स्वास्थ्य बीमा कार्यक्रमबाट हालसम्म १७ हजार बिरामीहरु लाभान्वित भएका छन् ।
मुटुको रोगको उपचारका लागि अहिले पनि नेपाली–भारतलगायत विभिन्न देशमा जाने गर्छन् । नेपालमै यसको सम्पूर्ण उपचार सम्भव छैन र ?
दक्षिण एशियामा भारतमा जस्तै उपचार नेपालमा पनि गर्न सकिन्छ । नेपालमा मुटुरोगको उपचार गर्न भारतबाट पनि बिरामी आउँछन् । खासगरी नेपालको सीमा नजिकका बिरामी आउने गर्छन् । सस्तो र गुणस्तरीय सेवा प्रदान गरी एक भरोसायोग्य उपचार केन्द्रको श्रपमा स्थापित यस केन्द्र मुटुरोगको उपचारका लागि विदेश जानुपर्ने बाध्यताबाट सबै नेपालीलाई मुक्त गर्न थप आधुनिक र गुणस्तरीय सेवा उपलब्ध गराउन सक्षम हुँदैछ ।
केन्द्रले अनुसन्धानका क्षेत्रमा के–कस्ता काम गरेको छ ?
विसं २०७७ साउनमा अनुसन्धान एकाइ गठन गरिएको छ । यस एकाइमार्फत २०० वटा अनुसन्धानलाई अगाडि बढाएका छौँ । अनुसन्धानबाट निस्केका निस्कर्षहरुलाई विश्वका विभिन्न जर्नलहरुमा प्रकाशित गरिएको छ । मुटुरोगको उपचार, रोकथाम तथा अध्ययन अनुसन्धानमा केन्द्रले उल्लेखनीय भूमिका खेल्दै आएको छ । सन् २०२२ मा अध्ययन अनुसन्धान क्षेत्रमा ३६ वटा अनुसन्धान प्रस्ताव स्वीकृत भएका छन् ।
केन्द्रको सेवा विस्तार गर्नेतर्फ के योजना रहेको छ ?
केन्द्रको प्रायः ९० प्रतिशत श्यया भरिएको हुन्छ । क्षमता विस्तार नगरिएमा दुई÷चार वर्षमा बिरामीले श्यया पाउन मुस्किल पर्नेछ । त्यसैले सरकारसँग दुई सय श्ययाको बनाउन अनुरोध गरेका छौँ । केन्द्रमा दिन प्रतिदिन बढ्दै गइरहेको बिरामीको चापलाई मध्यनजर गर्दै केन्द्रको क्षमता विस्तार गर्नुपर्ने आवश्यकता रहेको छ । यसका लागि केन्द्रले दुई सय श्ययाको अत्याधुनिक बाल मुटुरोग भवन निर्माणको लागि डिपिआर तयार गरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पठाइसकिएको छ । साथै केन्द्रलाई प्रतिष्ठानका रुपमा विकास गरी दक्ष जनशक्ति उत्पादनमा जोड दिनुपर्ने अवस्थासमेत रहेकाले यसका लागि नेपाल सरकारसँग अनुरोध गरेका छौँ ।
केन्द्रले नेपालमै पहिलो पटक विनाअपरेशन सेवा सुरु गरेको छ । यस्तो शल्यक्रियाको प्रभाव कस्तो रहेको छ ?
केन्द्रमा २००६ देखि मुटुको प्वाललाई शल्यक्रिया नगरी उपचार गर्ने विधिको सुरुआत गरिए पनि सन् २०१४ पछि मात्रै उल्लेख्यमात्रामा यस्तो शल्यक्रिया गर्न सकेका थियौँ । विश्वमा छाती चिरेर नगर्ने शल्यक्रियालाई जोड दिन थालिएको छ । २००२ मा फान्समा कृत्रिम भल्भबाट प्रात्यारोपण सुरु भएको थियो । भारतले २०१२ मा सुरु गरेको थियो । नेपालमा आठ वटा शल्यक्रिया गरिएकामा केन्द्रबाट मात्रै सातवटा शल्यक्रिया गरिएको छ । गत वर्ष २०७८ फागुन १६ गते नेपालमै पहिलो पटक विनाअपरेशन हालसम्म सात जनामा सफलतापूर्वक मुटुको भल्भ प्रत्यारोपण गरियो । नेपालमा पहिलोपटक यो सेवा सुरु भएको हो ।
मुटुरोगको उपचारमा सरकारले कत्तिको प्राथमिकता दिएको छ ?
नेपालको संविधानले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त हुने र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट बञ्चित गरिने छैन भनी मौलिक हकअन्तर्गत व्यवस्था गरेको छ ।
साथै आफ्नो स्वास्थ्योपचारका सम्बन्धमा जानकारी पाउने तथा स्वास्थ्य सेवामा समान पहुँचको हक हुने हकको प्रत्याभूति गरेको सन्दर्भमा सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवाको सुनिश्चितता गर्नु राज्यको कर्तव्य हुन आउँछ । यसै अनुसार केही वर्षहरूदेखि नेपाल सरकारले पनि मुटुरोगको उपचारमा उतिकै महत्व दिँदै आइरहेको छ । विसं २०६३÷६४ बाट सुरु भएको १५ वर्षमुनिका बालबालिकाको निःशुल्क मुटु उपचार, आव २०६४÷६५ देखि ५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकको निःशुल्क उपचार, आव २०६६÷६७ देखि विनाअप्रेशन मुटुको साँघुरिएको भल्भ खोल्ने प्रविधि, बाथ मुटुरोगीको निःशुल्क शल्यक्रिया, गरिब बिरामी राहत सुविधालगायतका कार्यक्रम नियमितरुपमा सञ्चालन हँुदै आइरहेका छन् । यी कार्यक्रमका लागि नेपाल सरकारद्वारा गत आव २०७८÷७९ मात्रै सामाजिक सेवा अनुदानअन्तर्गत रु ३७ करोड ६० लाख विनियोजन भएको र यसबाट गरिब असहाय बिरामीको उपचारमा निकै सहज भएको छ ।
अन्त्यमा यस केन्द्रलाई अझ प्रभावकारी बनाउन के गर्नुपर्ने देख्नुहुन्छ ?
मुटुरोगको निदान, उपचार, रोकथाम तथा अध्ययन अनुसन्धान सम्बन्धमा सरकारको केन्द्रीय अस्पतालका रुपमा विस्तार गर्नु आवश्यक छ । आगामी दिनमा मुटुरोगको उपचारमा नवीन प्रविधिसहित संस्थागत क्षमता विकासमार्फत एक उत्कृष्ट नमुना अस्पतालका रुपमा आफूलाई विकास र विस्तार गरी सेवा प्राप्त गर्ने नागरिकको संवैधानिक अधिकारको सुनिश्चिततातर्फ केन्द्रले काम गर्नुपर्नेछ । आगामी दिनमा केन्द्रलाई समयानुकूल थप चुस्तदुरुस्त बनाई मुटुरोगको उपचारमा संस्थागत क्षमता विकास गर्दै एक उत्कृष्ट नमुना अस्पतालका रुपमा विकास गर्नु आवश्यक छ । मुटुरोगको उपचारमा तुलनात्मकरुपले सस्तो र गुणस्तरीय सेवा प्रदान गरी देशकै एक भरोसायोग्य उपचार केन्द्रका रुपमा स्थापित गर्नेतर्फ सरकारको सहयोग जरुरत पर्दछ । रासस