Logo

सहरमा अभाव गाउँमा बिक्दैन दूध



काठमाडौं, माघ १७ । दूध उत्पादनको सिजनमै बजारमा अभाव देखिन थालेको छ । बजारमा माग बढ्दै गए पनि सोअनुसार उत्पादन नहुँदा सहर बजार क्षेत्रमा दूधको अभाव भएको हो ।

कोभिड–१९ का बेला बिक्री नभएर खेर गएपछि उत्पादन घटेकाले अहिले दूधको अभाव हुन थालेको हो । उत्पादनमा कमी आउनुका साथै ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध उच्च माग भएको सहरसम्म ल्याउन नसक्दा अभाव देखिएको हो ।

राष्ट्रिय डेरी एसोसिएनका अध्यक्ष प्रह्लाद दाहालले बजारमा हाल दैनिक पाँच लाख लिटर दूधको अभाव रहेको जानकारी दिए । सामान्य अवस्थामा बजारमा दैनिक ३६ लाख लिटर दूधको आपूर्ति हुने गरेकामा अहिले ३१ लाख लिटर मात्रै वितरण हुने गरेको उनले जानकारी दिए ।

खपत बढ्दै गएपछि सो अनुपातमा उत्पादन बढ्न नसक्दा दूधको अभाव भएको उनको दाबी छ । बस्ती विस्तार हुँदा खपत बढ्दै गएको र गाउँमा उत्पादन भएको दूध बजारमा आउन नसकेकाले पनि सहरी क्षेत्रमा दूधको अभाव भएको उनले बताए ।

कोभिड–१९ महामारीअघि खपत नभएको दूधबाट धूलो दूध उत्पादन गरेर भण्डारण गर्ने गरिएको थियो तर अहिले दूधकै उत्पादन कम भएकाले दुग्ध उद्योग पूर्ण रूपमा सञ्चालनमा नआएको व्यवसायीले बताए ।

डीडीसी बजारमा दूधको अभाव रहेकाले तत्कालका लागि उद्योग चलाउन दूध आयात गर्ने अनुमति कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग आग्रह गरेको छ । हाल डीडीसीको दुग्ध कारखाना ५० प्रतिशत क्षमतामा मात्र सञ्चालनमा रहेको बताइएको छ ।

डीडीसीले गत असोज महिनामा भारतको पटनाबाट एक महिनामा तीन लाख लिटर दूध आयात गरेको थियो । पछिल्लो समय सहकारी संस्थाले आफैँ दूध प्रशोधन गरेर बजारमा पठाउने गरेका छन् ।

वैदेशिक रोजगारीमा जाने बढेकाले पशुपालन घट्दो क्रममा छ । व्यावसायिक रूपमा सञ्चालनमा रहेका ठूला फार्मको सङ्ख्या घट्दै गएको छ । दूधको उत्पादन बढाउन सरकारी तवरबाट विभिन्न कार्यक्रम सञ्चालन गरे पनि उत्पादन भने बढ्न सकेको छैन । कुल उत्पादन भएको दूध डीडीसीले ३० प्रतिशत र निजी डेरी उद्योगले ७० प्रतिशत सङ्कलन गरेर बजारमा वितरण गर्ने गरेका छन् ।

सहरी क्षेत्रमा दूधको अभाव भए पनि गाउँमा उत्पादन भएको दूध बिक्री हुन सकेको छैन । सहकारी संस्थाले किसानबाट सङ्कलन गरेको दूध स्थानीय बजारमा वितरण हुने गर्छ । सहरी क्षेत्रको दूध बजारमा सहजै आएपछि गाउँगाउँमा सङ्कलन गर्न नजाने गर्दा किसानको दूध बिक्री नभई खेर जाने गरेको हो ।

काभ्रेका किसान हीरालाल सापकोटाले दुर्गम गाउँको दूध बजारमा आउन नसकेको बताए । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्