Logo

विपन्न परिवारलाई घर बनाउँदै राप्ती नगरपालिका



काठमाडौँ,१७ माघ । विपन्न परिवारका समुदायलाई लक्षित गर्दै राप्ती नगरपालिकाले पाँच सय घर बनाइदिने भएको छ । नगरभित्र बसोबास गर्ने चेपाङ, दलित र अन्य समुदायको विपन्न परिवारलाई नगरपालिकाले आवासको व्यवस्था गर्न लागेको हो ।

नगरपालिकाका प्रमुख शमशेर लामाका अनुसार हरेक वर्ष एक सय घर बनाउने योजनासहित काम भइरहेको छ । उनले भने, “पहिलो वर्षका लागि यस कार्यक्रममा रू एक करोड विनियोजन भएको छ । हिउँदे अधिवेशनमा यसको बजेट बढाएका छौँ ।”

यस वर्षमा निर्माण गरिने भनिएका घरहरूमध्ये मङ्सिर मसान्तसम्म ३२ वटा घरको निर्माण सम्पन्न भई रकम भुक्तानीसमेत भइसकेको उनले जानकारी दिए । अहिले आठवटा घर निर्माणको क्रममा छन् ।

घर निर्माणका लागि नगरपालिकाले प्रतिघर रू दुई लाख विनियोजना गरेको छ । निर्माणका लागि रू दुई लाख १५ हजारदेखि रू दुई लाख २५ हजारसम्म लाग्ने अनुमान गरिएको छ । अन्य रकम घरधनीले श्रमदान गर्नुपर्ने उनले बताए ।

जग्गा भएर पनि घर निर्माण गर्न नसकेका विपन्न परिवारका लागि नगरपालिकाले वडाको सिफारिस र स्थलगत अनुगमनपछि घर निर्माणको काम अगाडि बढाउने गरेको छ । घर दुईकोठे जस्ताको छानो भएको हुने उनले जानकारी दिए ।

नगरपालिकाभित्र रहेका १३ वटा वडामध्ये वडा नं १०, ११, १२ र १३ मा यस्ता परिवार धेरै रहेका छन् । उनले भने, “जग्गा भएर पनि घर बनाउन नसकेकाहरूका लागि स्थानीय सरकार छ भन्ने आभास दिलाउनका लागि हामीले काम सुरु गरेका छौँ ।”

पालिकामा चेपाङ, तामाङ समुदायको बसोबास बाक्लो छ । राज्यको दायित्वभित्र गाँस, बास र कपास पर्ने भन्दै उनले सुरुआती चरणमा बासको व्यवस्थापन गर्न लागिएको बताए । रासस



प्रतिक्रिया दिनुहोस्