Logo

‘राष्ट्रपति निर्वाचनमा कोर्स करेक्सन गरेर वाम लोकतान्त्रिक गठबन्धनको सरकार बनाउनुपर्छ’



काठमाडौं, १९ माघ । नेकपा (एकीकृत समाजवादी) का नेता एवं सांसद किसान श्रेष्ठले आगामी राष्ट्रपति निर्वाचनमा राजनीतिक कोर्स करेक्सन हुने बताएका छन् ।
‘विगतमा एउटै पार्टीको प्रधानमन्त्री र राष्ट्रपति हुँदा हामीले निकै क्षति बेहोरिसकेका छौं । सात दलीय गठबन्धनको सहमतिअनुसार अढाई वर्षपछि फेरि एउटै पार्टीको प्रधानमन्त्री र राष्ट्रपति हुँदा के अवस्था हुन्छ भन्ने कुरामा हामीले बेलैमा सोच्नुपर्ने अवस्था छ । त्यसैले आगामी राष्ट्रपति निर्वाचन राजनीतिक कोर्स करेक्सनको अवसर हो,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले भने ।
एमालेलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धोका दिनु होला भन्ने पत्रकार धमलाको प्रश्नमा श्रेष्ठले भने, ‘धोका दिने वा नदिनेभन्दा पनि एउटै महत्त्वपूर्ण पद दिँदा के अवस्था हुन्छ भन्ने हामीले भोगिसकेका छौं । उनले आफ्नो पार्टी यही सरकारमा जानेभन्दा पनि हिजोकै वाम लोकतान्त्रिक गठबन्धनको सरकार बनाउनुपर्ने पक्षमा रहेको बताए । उनले भने, ‘मंसिर ४ को गठबन्धन टुट्नै हुँदैनथ्यो । स्थानीय तह, संघ र प्रदेशमा मिलेर लडियो । मलाई बारा ४ का जनताले अत्यधिक मतका साथ जिताए । त्यसको केही न केही माया त लाग्छ नि । के कारणले टुट्यो भन्नेतिर हामी नजाऊँ । अब फेरि वाम लोकतान्त्रिक गठबन्धन बन्नुपर्छ । हिजोको गल्ती अब सच्चिन्छ कि भन्ने लाग्छ ।’
राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपा सरकार बाहिर गए भने एकीकृत समावादीले सरकारलाई साथ दिनुपर्ने बाध्यता हुने पनि उनले बताए । श्रेष्ठले भने, ‘फेरि मध्यावधिमा जाऊँ भने चुनाव गर्न ढुकुटीमा पैसा छैन । सांंसद नभएको व्यक्तिले मन्त्री मागिरहेको स्थिति छ । यसकारण नयाँ पार्टीले समेत जनविश्वास गुमाउने स्थिति छ । हिजो टीभीमा नेताहरुलाई छेडछाड गर्ने, मर्ने गरी हान्ने रविजी नै होइन ?’
वर्तमान गठबन्धन धेरै समय नटिक्ने पनि उनले औंल्याए । श्रेष्ठले भने, ‘कसैलाई राजा र हिन्दु राज्य चाहिने, कसैलाई संघीयता नचाहिने, कसैलाई नभई नहुने दलहरुको गठबन्धन छ । संविधान विरुद्ध आफ्नै क्याबिनेटका मन्त्रीले बोल्न थालेपछि प्रधानमन्त्रीले कारबाही गर्छु भनेको पनि एक हप्ता भैसक्यो । विचार, सिद्धान्त, मूल्य र मान्यता नमिल्नेसँग गठबन्धन गरेपछि यस्तै हालत त हुन्छ नि ।’



प्रतिक्रिया दिनुहोस्