Logo

खतिवडालाई धमलाको प्रश्न– एकीकृत समाजवादी सरकारमा जान लागेको हो ?



काठमाडौं, २१ माघ । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले अहिले सरकारमा जाने पार्टीको कुनै तयारी नभएको बताएका छन् ।
‘सरकार हाम्रो प्राथमिकताको विषय होइन । स्थायी कमिटी र सचिवालयमा यसबारे छलफल, समझदारी, निर्णय र टुंगो केही पनि छैन । नेकपा (माओवादी केन्द्र) का नेताहरुसँग भेटघाट हुँदैमा सरकारमा जान लागेको भनेर अर्थ लगाउनु भएन । यो सरकारलाई हामीले विश्वासको मत दिएका छौं । दुईतीन महिना हेरौं न, सरकारले कसरी काम गर्छ ?’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले भने ।
प्रवक्ता खतिवडाले भने राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिनु र नबाहिनुसँग आफ्नो पार्टीको कुनै सरोकार नरहेको पनि बताए । उनले भने, ‘बाहिरिन मन छ भने बाहिरिए हुन्छ । जहाँसम्म रविजीको कुरा हो, उहाँ त फौजदारी अभियोगमा कानुनी कारबाहीको घेरामा जानुपर्ने देखिरहेको छु । किनभने उहाँले सरकारी कार्यालयहरुमा झूटा विवरण दिनुभएको छ । उहाँहरु बाहिरिए राजनीतिक स्थिरताका निम्ति सरकारलाई सहयोग गर्न सकिन्छ ।’
उनले नेकपा एमालेका अध्यक्ष केपी ओली प्रतिगमनकारी र पुनरुत्थानवादी तत्त्वसँग साँठगाँठमा लागिरहेको आरोप पनि लगाए । खतिवडाले भने, ‘पुरानो गठबन्धन तोडेर यो गठबन्धन बनाउन की–रोल खेल्ने रवि लामिछाने, राजेन्द्र लिङ्देन र केपी ओली नै हो । अहिले उनीहरु मिलेर प्रचण्डलाई एक्लाउने कोसिस गरिरहेका छन् । संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता हुनुहुँदैन भन्नेसँग ओलीले राप्रपालाई २०७४ देखि मलजल गरेको हामीलाई थाहा छ । ओलीले प्रतिगमनकारी र पुरातनवादीको साँठगाँठमा शक्ति आर्जन गरेको हो । यो संविधानमा ओलीको कुनै निष्ठा छैन ।’



प्रतिक्रिया दिनुहोस्