काठमाडौं, २१ माघ । नेकपा (माओवादी केन्द्र)को आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठक सम्पन्न भएको छ।
स्थायी कमिटीको बैठकमा गत स्थानीय, प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनदेखि हुँदै गरेको राष्ट्रपति निर्वाचनसम्मका विषयमा छलफल भएको छ।
बैठकले गत प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा अन्तर्घात भएको निष्कर्ष निकालेको छ। पार्टी प्रवक्ता कृष्णबहादुर महराले अन्तर्घातको विषयमा अध्ययन गर्न नेताहरूको टोली जिल्ला तहमै खटाइने बताएका छन्। उनले माघ २६ नेताहरुलाई जिल्लामा खटाइने बताए।
त्यसैबीचमा माघ २६ देखि फागुन ५ गतेसम्म प्रदेश समन्वय समितिको बैठकसमेत बस्ने उनले बताए।
आजको बैठकले पार्टीले दुई महिने अभियान चलाउने निर्णय गरेको प्रवक्ता महराले बताए। दुई महिनामा नेताहरु सबै फिल्डमा जाने र पार्टीपंक्ति मात्र नभइ जनतासँग भेटेर त्यसको रिपोर्टसहित केन्द्रीय समितिको बैठक बसेर नयाँ कार्ययोजनासहित अघि बढ्ने कुरा भएको उनले बताए।
सो अभियान फागुन र चैत महिनामा चलाउने निर्णय भएको उनले बताए।
यस्तै, अगामी राष्ट्रपति निर्वाचनमा माओवादी केन्द्रले राष्ट्रिय सहमति गरेर जाने निर्णय गरेको छ। सकेसम्म राष्ट्रिय सहमति गर्ने र त्यसो नभए जोसँग विचार मिल्छ उसैसँग मिलेर जाने निर्णय भएको माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले बताएका छन्।