काठमाडौं, २२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समय मागेका कारण सरकारमै बस्ने या बाहिरिने भन्ने निर्णय हुन नसकेका बताएका छन् ।
‘कतिपय साथीहरु संगठन विस्तारका लागि राजधानी बाहिर भएकाले हाम्रो हिजोको बैठकमा ठोस निष्कर्ष निकाल्न सकेनौं । राष्ट्रपति, उपराष्ट्रपति र उपनिर्वाचनमा सामान्य छलफल भए । प्रधानमन्त्रीसँग हाम्रा पार्टी सभापतिको नियमित सम्पर्क भइरहेको छ । उहाँले समय मागेकाले पनि निर्णय हुन सकेको छैन । सम्भवतः आज निष्कर्षमा पुग्छौं,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले भने ।
नेता परियारले प्रधानमन्त्री प्रचण्डले गठबन्धलाई कता लैजान खोजेको भन्ने बुझ्न नसकेको बताए । उनले थपे, ‘सत्ता गठबन्धनमा भएको सहमति अनुसार हामीले गृहमन्त्रालय पाएका हौं । तर अहिले हामीलाई जसरी सत्तालिप्सा र अपरिपक्वता देखाएको भनेर बदनाम गर्न खोजिएको छ, त्यसले स्वतन्त्र पार्टी र गृहमन्त्रालयका नाममा अन्य राजनीतिक चलखेल भइरहेको हाम्रो शंका छ । प्रधानमन्त्रीले गठबन्धनलाई कता लैजान खोज्नुभएको हो ? हामीले बुझेका छैनौं ।’
तपाईंहरु किन बारम्बार अल्टिमेटम मात्र दिइरहनुभएको छ भन्ने पत्रकार धमलाको प्रश्नमा परियारले भने,’ हाम्रा कारणले गठबन्धनमा दरार नआओस् भनेर जिम्मेवार भूमिका निर्वाह गर्दा पार्टी अनिर्णयको बन्दी भयो कि भन्ने लागेको हुन सक्छ । गृहमन्त्रालयमा नदिए सत्तामा बस्ने कि बाहिरिने भन्ने कुरा प्रधानमन्त्रीकै प्रस्तावमा भर पर्छ । यहाँ कोही दिने वा लिने स्थितिमा छैन । जनअभिमतअनुसार भूमिका पाउने हो । रविजी नै गृहमन्त्री नै बन्नुपर्छ भन्ने छैन । तर बन्नै हुँदैन भन्ने पनि अतिवादी सोच हो । प्रधानमन्त्रीको कुरा के हो, त्यसअनुसार हाम्रो निर्णय हुन्छ ।’