काठमाडौं, २४ माघ । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी राष्ट्रपति निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई धोका दिने ठोकुवा गरेका छन् ।
‘पुस १० मा ओलीसँग सहमति गर्ने व्यक्ति प्रचण्ड हुन्, प्रधानमन्त्री होइनन् । प्रचण्डले सकेसम्म आफूलाई कम्फरटेबल हुने मानिसलाई राष्ट्रपति बनाउँछन्, त्यो नभए कांग्रेसलाई बनाउँछन् । प्रचण्ड र देउवाको साँठगाँठ मिलिसकेको छ । गठबन्धन बदलिन्छ । प्रचण्डले जुनसुकै बेला धोका दिन सक्छन् । ओली बेलैमा सतर्क नभए राष्ट्रपति पद गुम्छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. दीक्षितले भने । कांग्रेस महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले विराटनगर पुगेर निर्धक्क राष्ट्रपति कांग्रेसकै हुने बताएको दृष्टान्त पनि उनले दिए ।
अर्को प्रसंगमा डा. दीक्षितले रवि लामिछानेले गृहमन्त्री गुमेको झोकको विवेक, बुद्धि सबथोक गुमाएको आरोप पनि लगाए । उनले भने, ‘राजनीति गर्ने मान्छे त सहनशील हुनुुपर्छ नि । सोझै १२ भाइ भन्न पाइन्छ ? सारा सञ्चार जगत् बदमास, उही मात्र चोखो ? उसले गल्ती नगरेको भए मिडियाले खोतल्थ्यो ? अमेरिकाबाट फुत्त यहाँ आएर सबैलाई अर्ती दिने ? मिडियालाई गाली गर्ने हैसियत उसलाई कसले दियो ? रवि त आग बबुल भएर अन्धो भएर लागेको रहेछ । हामी सबै झुक्किएका रहेछौं ।’
अहिलेसम्म नेपाली मिडियाको भूमिका सन्तुलित नै रहेको उनले औंल्याए । डा. दीक्षितले थपे, ‘सबै मिडिया चोखा छैनन्, सबै दल चोखा छैनन्, सबै डाक्टर चोखा छैनन् । सबैतिर गडबडी गरेका मानिस अलिअलि हुन्छन् नै । मिडियालाई सपार्न प्रेस काउन्सिल लाग्नुपर्छ । मिडिया जे जसरी चलिरहेका छन्, त्यसरी नै चल्नुपर्छ ।’ साथै उनले रवि लामिछानेको हकमा प्रधानमन्त्री प्रचण्डको अडान उचित रहेको तर ओलीले आफ्नो बचाउका लागि रविको पक्ष लिएको पनि बताए ।