काठमाडौं, माघ २४ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशमा उच्च शिक्षा हासिल गर्न वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) जारी गर्ने सवालमा अब विद्यार्थीले सही कागजात अनलाइनमा अपलोड गरे आफ्नो एनओसी आफैं प्रिन्ट गर्न सक्ने निर्देशिका जारी गर्ने तयारी गरिरहेको छ।
मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाले वैदेशिक अध्ययन अनुमतिसम्बन्धी सेवा प्रवाहलाई मर्यादित, व्यवस्थित र प्रविधिमैत्री बनाउनका निमित्त वैदेशिक अध्ययन स्वीकृति व्यवस्थापन निर्देशिका,२०७९ जारी गर्ने तयारी गरेको छ।
शाखाका प्रमुख वासुदेव वस्तीले निर्देशिका तयार गरी स्वीकृतिका लागि मन्त्रालयको उच्च शिक्षा महाशाखामा पेस गरिसकेको जनाए। उनका अनुसार निर्देशिका जारी भए अब विद्यार्थीले एनओसी लिन मन्त्रालय धाइराख्नुपर्ने व्यवस्था अन्त्य हुने छ। एनओसी शाखा पूर्णरूपमा अनलाइनमा आधारित गर्न मन्त्रालयले निर्देशिका जारी गर्न लागेको उनको ठहर छ।
उनले राणाकालीन समयमा नेपालभित्रकै एक स्थानबाट अर्को स्थानमा जान इजाजत पत्रको व्यवस्था भएजस्तै छात्रवृत्तिसम्बन्धी ऐन २०२१ ले पहिलोपटक विदेशमा अध्ययन गर्ने विद्यार्थीका लागि अनिवार्य एनओसी लिने व्यवस्था गरेको बताउँदै यस वर्षदेखि विद्यार्थीले पनि आफ्नो एनओसी आफैं प्रिन्ट गरी लिन सक्ने नयाँ व्यवस्था हुने जनाए।
‘निर्देशिकाले गरेको व्यवस्थाअनुसार आवेदकले सही कागजात पेस गरेनगरेको भेरिफिकेसन पनि सफ्टवेयरले नै गर्छ। त्यसपछि कागजात सही भएको प्रमाणीकरण भएपछि आवेदकले आफ्नो एनओसी आफ्नो स्थानमै प्रिन्ट गरेर निकाल्न सक्छन्’, प्रमुख वस्तीले नागरिकसँग भने, ‘हाल मन्त्रालयको एनओसी शाखामा दैनिक पाँच सयको हाराहारीमा एनओसी जारी भइरहेको छ। चाप थेगिनसक्नु छ।’ उनले थपे, ‘हामी कार्यालयमा बिहान समयअगावै आउने र अबेरसम्म काम गर्ने दैनिकी बनिसकेको छ।
यति मात्र होइन, एनओसीलाई थप मर्यादित र व्यवस्थित बनाउन निर्देशिकाले उच्च शिक्षा महाशाखा प्रमुखको संयोजकत्वमा परामर्श समिति गठनको व्यवस्था गरेको छ। यो समितिमा परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, राहदानी विभाग, राष्ट्र बैंक, गृह मन्त्रालय तथा विश्वविद्यालयका प्रतिनिधि रहने छन्।’ उनले यो समितिले कुन देशमा विद्यार्थीलाई एनओसी दिने, कुन देशमा नदिने तथा कुन विषयका लागि एनओसी दिनेलगायतका विषयवस्तुमा मन्त्रालयलाई उचित परामर्श दिने र सोही परामर्शका आधारमा एनओसी जारी हुने व्यवस्था हुने निर्देशिकाले समेटेको छ। नागरिक दैनिकबाट