काठमाडौं, माघ २५ । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) प्रमुख सामन्था पावर बुधबार स्वदेश फर्किंदै छिन्। दुई दिने नेपाल भ्रमणमा आएकी उनी उच्चस्तरीय भेटघाट सकेर आज स्वदेश फर्किन लागेकी हुन् ।
अमेरिकी विदेश मन्त्रालयको राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरीया नुल्याण्डले नेपाल भ्रमण गरेर फर्किएको हप्ता दिन नपुग्दै सामन्था नेपाल भ्रमणमा आएकी थिइन् । नेपाल बसाईका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, परराष्ट्र मन्त्री डा विमला राई पौडेललाई भेटेर अमेरिकी सहयोग परियोजना (एमसीसी) को कार्यान्वयनमा जोड दिएकी छन् ।
सन् २००२ मा तत्कालीन विदेशमन्त्री कोलिन पावेलले नेपालको औपचारिक भ्रमण गरेपछि अमेरिकाबाट भएको यो नै उच्च तहको भ्रमण हो । उनी क्याबिनेट स्तरकी उच्च अधिकारी हुन् । साथै, उनी राष्ट्रिय सुरक्षा परिषद्की सदस्यसमेत हुन् ।