Logo

कांग्रेस सहमहामन्त्री भन्छन्– कमण्डलु लिएर पशुपति जाने साधु त होइनौं नि



काठमाडौं, २७ माघ । नेपाली कांग्रेसका सहमहामन्त्री फर्मुल्लाह मन्सुरले नवगठित सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत दिलाउन लागिपर्ने बताएका छन् । माओवादी केन्द्र र जसपाको प्रदेश सरकारलाई कांग्रेसले विश्वासको मत दिएकाले उसले पनि आफूलाई समर्थन गर्ने मन्सुरको दाबी छ ।
‘हिजो सुदूरपश्चिम प्रदेश सरकार ढलेपछि ठूलो दलको हैसियतले कांग्रेसले सरकार बनाएको छ । राजनीतिक पार्टी भनेको सरकारमा गएर आफ्ना एजेन्डा लागू गर्नका लागि नै बन्ने हुन् । हामी कमण्डलु लिएर पशुपति जाने साधु त होइनौं नि । हामी सहमति र सहकार्यका पक्षमा छौं । परिस्थितिलाई आफ्नो अनुकूल ढाल्न कांग्रेस लागिपरेको छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले भने ।
नेता मन्सुरले सुदूरपश्चिम प्रदेशमा कांग्रेस नेतृत्वको सरकारलाई माओवादी केन्द्रले सघाउने विश्वास पनि व्यक्त गरे । माओवादी केन्द्रको संसदीय दलका नेता खगराज भट्टले कांग्रेसले आफ्नो सल्लाह नसुनीकन सरकारको नेतृत्व गर्न गएकाले प्रतिपक्षमा बस्ने घोषणा गरिसक्नुभएको छ नि भन्ने धमलाको प्रश्नमा उनले भने, ‘सातवटा प्रदेशमध्ये जहाँ एमालेबाहेकका दल मुख्यमन्त्री छन्, त्यहाँ हामीले जसपा र माओवादीलाई विश्वासको मत दिएका छौं । अब उहाँहरुले हामीलाई विश्वासको मत दिनुहुन्छ भन्ने आशा राखेका छौं । हामी सबैसँग संवादमा छौं ।’
आगामी राष्ट्रपति निर्वाचनमा कांग्रेसले आफ्नै दलको उम्मेदवार उठाउने पनि मन्सुरले बताए । उनले भने, ‘कांग्रेस संसदको सबभन्दा ठूलो पार्टी हो । राष्ट्रपति निर्वाचनमा कांग्रेसले आफ्नै उम्मेदवार उठाउँछ । अहिले नै नकारात्मक कुरा नगरौं । एमालेबाट निर्वाचित वर्तमान राष्ट्रपतिबाट पटकपटक संविधानमाथि कुठाराघात भएकाले सबै दलहरु सचेत हुन्छन् भन्ने हामीलाई विश्वास छ ।’



प्रतिक्रिया दिनुहोस्