काठमाडौँ,२७ माघ । जिल्ला प्रशासन कार्यालयले दैनिक करिब दुई सय नागरिकता जारी गर्दै आएको छ । दुई इलाका प्रशासन कार्यालय र एउटा जिल्ला प्रशासन कार्यालय गरी तीन स्थानबाट दैनिक करिब दुई सय नागकिता जारी हुँदै आएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
उनका अनुसार जिप्रकाबाट करिब एक सय र इलाका प्रशासन कार्यालय हरिवनले करिब ५० र इलाका प्रशासन कार्यालय बरहथवाले करिब ५० नागरिकता दैनिक जारी गर्दै आएका छन् । “पर्याप्त जनशक्ति भए चार सयसम्म नागरिकता जारी गर्न सकिन्थ्यो”, सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारीले बताए
उनका अनुसार जिल्ला प्रशासन कार्यालय सर्लाही र इलाका प्रशासन कार्यालयमा प्रशासकीय अधिकृत अभाव हुँदा नागरिकलाई निकै सास्ती भएको छ भने कार्यालयमा निकै चाप छ । “जिल्ला प्रशासन कार्यालयसहित दुईवटा इलाका प्रशासन कार्यालयमा नै प्रशासकीय अधिकृत अभाव छ । म सर्लाही आएलगत्तै माथिल्लो निकायलाई लेखी पठाएको छु । जवाफ आउँछ कि कर्माचारी आउँछन्, पछि थाहाहोला”, प्रजिअ यादवले भने उनका अनुसार कार्यालयमा सबैभन्दा धेरै काम र जिम्मेवारी हुने प्रशासकीय अधिकृत नै नहुँदा सेवा प्रवाहमा समस्या भएको छ ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीमा तीनजना प्रशासकीय अधिकृतको दरबन्दी भए पनि अहिले दुईजना प्रशासकीय अधिकृत मात्र कार्यरत छन् । जिल्ला प्रशासन कार्यालयबाट नागरिकता जारी गर्नेदेखि अन्य काममा समेत प्रशासकीय अधिकृत राजकुमार थापा एकजना मात्रै कार्यरत रहँदा सेवा प्रभावमा समस्या भएको प्रजिअ यादवले बताए जसका कारण कार्यालयको काम प्रभावित भएपछि इलाका प्रशासन कार्यालय हरिवनका कार्यरत प्रशासकीय अधिकृत गुणराज भुजेललाई जिल्ला प्रशासन कार्यालयमा काजमा खटाइएको प्रजिअ यादवले बताए ।
दुईजना प्रशासकीय अधिकृतमध्ये थापा पनि गत शुक्रबारदेखि एक साताका लागि बिदामा रहँदा इलाका प्रशासन कार्यालय हरिवनका कार्यरत प्रशासकीय अधिकृत भुजेललाई जिल्ला प्रशासन कार्यालयमा काजमा खटाउनु परेको प्रजिअ यादवले बताए । अहिले जिल्ला प्रशासन कार्यालयमा अधिकृत भुजेल एकजना मात्रै कार्यरत रहनुभएको छ । तीनजना प्रशासकीय अधिकृत हुँदासमेत नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्रलगायत काममा भ्याइनभ्याइ हुने गरेको कार्यालयमा अहिले एकजना मात्रै अधिकृत कार्यरत हुँदा सेवा प्रवाहमा निकै समस्या भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।यता, सेवा लिन घण्टौँ लाइनमा बस्नुपर्दा सेवाग्राहीहरू थप झन्झट बेहोर्न बाध्य भएका छन् । रासस