Logo

स्थानीय तहका जनप्रतिनिधिको विदेश भ्रमण, उपलब्धि शून्य



काठमाडौं, माघ २८ । स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीले विदेश भ्रमण गर्ने गरे पनि त्यसको उपलब्धि स्थानीय तहमा शून्यप्रायः देखिएको छ। विभिन्न सङ्घसंस्थाको निमन्त्रणा तथा अध्ययन भ्रमणको नाममा स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारी विदेश भ्रमण गर्ने गरे पनि भ्रमणपछि स्थानीय तहका लागि खासै उपलब्धि देखिएको छैन।

कतिपय स्थानीय तहले विदेश भ्रमणबाट विदेशका स्थानीय सरकारसँग भगिनी सम्बन्ध कायम गरे पनि त्यो सम्बन्ध यहाँका स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई विदेश भ्रमण गर्ने ‘बहाना’ मात्र बनेको छ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार यस आर्थिक वर्ष सुरु भएदेखि २६ जना जनप्रतिनिधि र १४ जना कर्मचारीले विदेश भ्रमण गरिसकेका छन्। करिब १० जना जनप्रतिनिधि तथा कर्मचारी विदेश भ्रमणको तयारीमा रहेको मन्त्रालयले जनाएको छ।

स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारी विदेश भ्रमणपश्चात् स्थानीय तहमा उल्लेख्य प्रगति नभएको गाउँपालिका राष्ट्रिय महासङ्घ र नेपाल नगरपालिका सङ्घका पदाधिकारीले स्वीकारेका छन्। गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले जनप्रतिनिधि र कर्मचारीको विदेश भ्रमणबाट स्थानीय तहका लागि देखिने गरी खासै उपलब्धि नभएको बताईन् ।

उनका अनुसार आफ्नो पालिकाको विकास निर्माण, सेवा प्रवाह र सुशासनका क्षेत्रमा सुधार गर्न सकिने हुँदा मात्र विदेश भ्रमणको औचित्य हुने अन्यथा व्यक्तिगत रमाइलोका लागि मात्र विदेश भ्रमण जानुको कुनै अर्थ हुँदैन। गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्