Logo

रवि लामिछाने अर्कालाई गाली गर्‍यो भने ठूलो नेता भइन्छ भन्ने केपी ओलीको सिको गर्दै हुनुहुन्छः वामदेव गौतम



काठमाडौं, २८ माघ । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक एवं पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले सात दलीय सत्ता गठबन्धनका उम्मेदवार नै राष्ट्रपति बन्ने दाबी गरेका छन् ।
‘अहिलेसम्म केपी ओली नेतृत्वको गठबन्धनले नै राष्ट्रपति जित्ने अवस्था छ । मेरो विचारमा प्रधानमन्त्रीले यसमा फरक मत राखेर जानु उपयुक्त हुँदैन । माओवादीले पनि गठबन्धनकै उम्मेदवारलाई मतदान गर्नुपर्छ । तर मैले भनेर लागू हुने होइन । हाम्रो देशको सन्दर्भमा प्रतिस्पर्धाबिना राष्ट्रपति छान्नु पनि उपयुक्त नै हो,’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै गौतमले भने । प्रधानमन्त्री, राष्ट्रपति र सभामुखलाई संविधानले बाँधेको हुनाले एउटै पार्टीबाट भए पनि फरक नपर्ने उनले बताए ।
राष्ट्रपति भएर जो आए पनि नेपालको संविधान र संघीय कानुन बमोजिम चल्नुपर्ने उनले औंल्याए । उनले भने, ‘राष्ट्रपतिले स्वविवेक प्रयोग गर्नै पाइँदैन । पहिले र अहिलेका राष्ट्रपतिले त्यही गरेर बिग्रिएको हो । राष्ट्रपतिले संविधान र सरकारको निर्णय बमोजिम चल्नुपर्छ । अहिलेको राष्ट्रपति बिदा हुँदै हुनुहुन्छ, उहाँको सम्बन्धमा मेरो मुखबाट आलोचना गर्न नलगाउनुस् । तर नागरिकता विधेयकमा स्टाम्प नलगाएर उहाँबाट कहिल्यै सच्चाउन नसकिने गल्ती भयो । उहाँले स्वविवेक अधिकार प्रयोग गर्न पाइँदैन । दिमागले सोच्न पनि पाइँदैन ।’
रवि लामिछानेले केपी शर्मा ओलीबाट गाली गर्न सिकेको पनि गौतमले बताए । उनले भने, ‘ओलीले आफूजतिको बुद्धिमान कोही छैन भन्ने ठान्नुभएको छ । उहाँले पूर्वलोक, इहलोक, परलोक सबै जान्नुभएको छ । उहाँले जे पनि भन्नुहुन्छ, सर्वोच्च अदालतको निर्णयको खिल्ली उडाउनुभयो । रवि लामिछानेलाई गृहमन्त्री बनाउनपर्छ भनिरहनुभएको छ । उहाँ केपी ओलीकै सिको गर्दै हुनुहुन्छ । अर्कालाई गाली गर्‍यो भने ठूलो नेता भइन्छ भन्ने लागेको होला ।’
नेता गौतमले एमाले र माओवादीको एकतामा हतार गर्न नहुने पनि बताए । तर नेकपा (एकीकृत समाजवादी) लाई नेकपा एमालेमै फर्काउनुपर्ने उनको धारणा छ । उनले भने, ‘एमाले पार्टीको नाम र चिह्न हामी सबैलाई प्यारो छ । अब केपीले वामपन्थी एकता र पार्टी एकताको पहल गर्नुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्