काठमाडौं, २९ माघ । विवेकशील साझा पार्टीकी नवनिर्वाचित अध्यक्ष समीक्षा बाँस्कोटाले महिला नेतृत्वमा पार्टीले नयाँ गन्तव्य पहिल्याउन लागेको बताएकी छन् ।
निकै जटिल अवस्थाबाट हामीले महाधिवेशन गरेर लामो समय निष्क्रिय साथीहरुलाई जोड्न सफल भएका छौं । ६ वर्षसम्म महाधिवेशन गर्न नसकेको विगतलाई बिर्सेर नयाँ आशा र भरोसा पलाएको छ । महिला नेतृत्वमा विवेकशील साझा नयाँ गन्तव्यका लागि फेरि एकपटक उठ्ने छ, नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै बाँस्कोटाले भनिन् ।
विवेकशील साझाले अब समाधानमुखी राजनीति गर्ने पनि उनले बताइन् । बाँस्कोटाले थपिन्, पाँच वर्ष अगाडि प्राप्त मतका कारण हामी मात्तिएर बस्यौं । काठमाडौं वरिपरिमात्र रमायौं । अब हामी सुध्रिसकेका छौं । हाम्रो नयाँ टिम व्यवस्था होइन अवस्था परिवर्तनका लागि कमिटेड भएर लाग्छ । सोलुसन बेस्ड, डेलिभरी र सुशासनको मुद्दा लिएर अघि बढ्छौं । वैकल्पिक राजनीतिलाई जोगाएर टिकाएर अघि बढ्छौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी विवेकशील साझाले १० वर्षे वैकल्पिक राजनीतिको जगमा उदाएको पनि उनले बताइन् । बाँस्कोटाले भनिन्, रास्वपा अहिलेको नयाँ शक्ति हो । हाम्रै कतिपय सदस्यहरु पनि त्यहाँ हुनुुहुन्छ । उसमा राजनीतिक स्पष्टता आए सहकार्य हुन्छ, तर वैकल्पिक राजनीतिको मूलधार हामी नै हौं । हामी स्वतन्त्र उम्मेदवारहरुलाई पनि समेटेर अघि बढ्न चाहन्छौं ।