Logo

स्ववियु निर्वाचन : फागुन १९ गते मतदाता नामावली प्रकाशन, २७ गते उम्मेदवारी दर्ता



काठमाडौं, फागुन २ । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि मतदाता नमावली फागुन १९ गते प्रकाशन गर्ने गरी कार्यतालिका सार्वजनिक गर्ने तयारी गरेको छ ।

निर्वाचन कार्यतालिका सार्वजनिक गरेपछि क्याम्पसको पठनपाठन र परीक्षामा व्यवधान आउनसक्ने आंकलन गर्दै त्रिविले एक महिना अघिमात्र कार्यतालिका सार्वजनिक गर्न लागेको हो । स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले फागुन ४ गते बिहीबार निर्वाचन कार्यतालिका सार्वजनिक गर्नेछ । स्रोतका अनुसार मतदाता नामावली प्रकाशनसँगै नामावलीमा दाबी विरोधपछि अन्तिम नामावली प्रकाशन गरी फागुन २७ गते उम्मेदवारी दर्ता गर्ने तालिका छ ।

कार्यतालिका सार्वजनिक भएपछि निर्वाचनको माहोल तयार हुने र सबै विद्यार्थी संगठन निर्वाचनमा होमिने छन् । केही विद्यार्थी संगठनले पूर्ण समानुपातिक र केहीले उमेरको हदबन्दी हटाउनुपर्ने माग अघि सारे पनि स्ववियु निर्वाचन गराउने विषयमा एकमत भएकोले समस्या नरहेको त्रिविको दाबी छ ।

समितिले कार्यतालिका सार्वजनिक गरेपछि सबै क्याम्पसमा निर्वाचनको विषयमा सर्कुलर जारी गर्ने र सोही आधारमा कार्यतालिका कार्यान्वयन हुने अपेक्षा त्रिविले लिएको छ । त्रिविले सार्वजनिक गरेको कार्यतालिकालाई सामान्य हेरफेर गर्न सक्ने अधिकार क्याम्पसलाई दिएको छ । त्रिविले चैत ५ गते निर्वाचन गर्न नसकेमा त्यसको एक महिनाभित्र पुनः निर्वाचन गर्नेगरी १३ बुँदे निर्देशिका जारी गरिसकेको छ । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्