Logo

दुर्गा प्रसाईंले एमाले छाडिसकेको हुनुपर्ने होः भट्टराई



काठमाडौं, २ फागुन । नेकपा एमालेका विदेश विभाग प्रमुख डा. राजन भट्टराईले नेपाल र भारतको सचिवस्तरीय वार्तामा सीमा सम्बन्धी समस्याले प्रवेश पाएको हुन सक्ने औंल्याएका छन् ।
‘नेपालमा नयाँ सरकार बनेपछि भारतीय पक्षको यो पहिलो औपचारिक भ्रमण हो । भारत नेपालको अत्यन्त नजिकको छिमेकी मात्र नभएर बहुआयामिक सम्बन्ध भएको मुलुक हो । त्यसैले कतिपय विषयमा असहमति पनि छन् । उच्चस्तरीय राजनीतिक संयन्त्रमा भएका सीमा समस्या कुरा सचिवस्तरीय छलफल गर्ने भनेर टुंगिएको हो । त्यसैले त्यो विषयले प्रवेश पाएको हुनुपर्छ भन्ने मेरो बुझाइ हो,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले भने ।
एमाले नेता भट्टराईले सचिस्तरीय वार्ता सौहार्दपूर्वक अघि बढ्नु सकारात्मक भएको पनि बताए । उनले भने, ‘राजनीतिक तहमा सामान्य शिष्टाचार भेट र छलफल हुने नै भए । तर सचिवस्तरीय वार्तामा प्रवेश पाउँदा मात्र त्यसले औपचारिकता पाउँछ । मैले पाएको सूचना अनुसार सबै विषय टेबलमा आएका छन् र सौहार्दपूर्वक नै वार्ता अगाडि बढेको छ ।’ साथै उनले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि भारतले हवाई रुट दिनुपर्ने पनि औंल्याए ।
भारतीय निर्भरता र चीनको प्रभाव विस्तारका कारण नेपालमा अमेरिकनको चासो बढेको पनि उनले बताए । भट्टराईले भने, ‘अन्तर्राष्ट्रिय राजनीति चर्को प्रतिस्पर्धातर्फ जान लागेको आभास भएको छ । चीनको उदयसँगै पुरानो विश्व व्यवस्थामा आएको फेरबदलले नयाँ तनाव सिर्जना भएका छन् । भारतीय निर्भरता, चीनको प्रभाव विस्तारका कारण पनि शक्तिराष्ट्र अमेरिकाको चासो बढेको छ ।’
नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंले नागरिक बचाउ अभियानमार्फत राजतन्त्र फर्काउन लाग्नुभन्दा अगाडि पार्टी छाडिसकेको हुनुपर्ने उनले बताए । भट्टराईले थपे, ‘पूर्व राजा दल खोलेर सक्रिय राजनीतिमा आउन खोजेका हुन् भने त्यो उनको कुरा हो । हरेक नागरिकलाई प्रतिनिधि चुन्ने र चुनिने अधिकार हुन्छ । तर एमालेकै नेता भएर राजतन्त्र फर्काउने कुरा गर्न मिल्दैन । यो पार्टीको लाइनभन्दा बाहिरको कुरा हो । मेरो विचारमा उहाँले एमाले छाडिसकेको हुनुपर्ने हो । पार्टीको विधान र दस्तावेजभन्दा पृथक ढंगले चल्ने छुट कसैलाई छैन ।’
साथै भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुस १० को सहमतिबाहिर जाने कल्पना नगरेको पनि बताए । उनले भने, ‘पुस १० को सहमतिअनुसार उहाँ प्रधानमन्त्री हुनुभएको हो, त्यही सहमतिबाट सभामुखमा देवराज घिमिरे चुनिनुभएको छ । अब राष्ट्रपति पनि त्यही सहमतिबाट हुने हो । प्रचण्ड त्यो सहमतिबाहिर जानुहुन्छ भन्ने मलाई लाग्दैन ।’



प्रतिक्रिया दिनुहोस्