काठमाडौं, ४ फागुन । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलले देशी विदेशी साँठगाँठ गरेर राष्ट्रपति निर्वाचनमा आफ्नो पार्टीलाई एक्ल्याउन खोजिएको आरोप लगाएका छन् ।
‘नेपालका केही राजनीतिक दलहरुले त देशीविदेशी साँठगाँठ गरेर एमालेलाई स्थानीय, संघीय र प्रदेश निर्वाचनमा एक्ल्याउन खोजेकै हुन् । त्यसलाई अस्वीकार गरेर नेपाली जनताले एमालेलाई सशक्त भूमिका दिए । अहिले फेरि राष्ट्रपति निर्वाचनको सन्दर्भ पारेर बाह्यतत्त्वको अलि बेसी नै चलखेल भइरहेको छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै पोखरेलले भने ।
नेकपा एमालेलाई एक्ल्याउन छिमेकी मुलुक भारत नै लागेको आरोप पनि उनले लगाए । पोखरेलले थपे, ‘यसका धेरै कारण हुन सक्छन् । २०१८ सालदेखि कालापानीमा भारतीय सेना बसिरहेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले चुच्चे नक्सा प्रकाशित गरेपछि भारतीय पक्ष आफ्नो सार्वभौमसत्तामा आक्रमण गर् यो भन्ने तहमा पुग्यो । पहिले पारवहनमा भारतको एकलौटी निर्भरता थियो । ओलीले चीनसँग पनि पारवहन समझदारी गरेर त्यसलाई उल्टाइदिनुभयो । तराईको डुबान समस्या समाधान, १९५० को सन्धि संशोधन आदि गर्नुपर्छ भनिरहँदा कसलाई चित्त बुझेको छैन भन्ने सबैलाई थाहा छ । केपी ओलीले राष्ट्रिय स्वाभिमानको मुद्दा उठाएपछि नेहरु चिन्तन प्रणालीलाई आत्मसात् गर्नेहरु छटपटाउनु स्वाभाविकै हो ।’
राष्ट्रपति निर्वाचनमा कसैका प्रयत्न र चाहना सफल नहुने दाबी पनि उनले गरे । पोखरेलले भने, ‘माओवादीका केही मान्छेले सहमति सहमति भनिरहेका छन् तर म त्यसलाई आधिकारिक मान्दिनँ । गठबन्धनमा केही समस्या छन् तर मूल नेतृत्व गठबन्धन जोगाउनु पर्छ भन्नेमै छ । गठबन्धनमा कुनै दुर्घटना होला भन्ने मलाई लाग्दैन । हामीले राष्ट्रपतिमा एमालेका उम्मेदवारलाई भोट आउँदैन भन्ने कल्पना नै गरेका छैनौं ।’
उनले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई गठबन्धन भत्काएर देखाउन चुनौती दिएका छन् । पोखरेलले भने, गगन थापा वा अरू कसैले बोले पनि मालिक रिझाउन बोलिएको हुन सक्छ । तर त्यसले ठोस आकार ग्रहण गर्छ भन्ने लाग्दैन । गठबन्धन भत्किँदैन । राष्ट्रपतिमा गठबन्धनका साझा उम्मेदवारले नै जित्छन् ।’