Logo

म एमालेकै नेता हुँ, पूर्वराजासँग एक रुपैयाँ लिएको छैनः दुर्गा प्रसाई



काठमाडौं, ६ फागुन । नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईले आफ्नो व्यक्तिगत सम्बन्धका आधारमा पूर्व राजा ज्ञानेन्द्र शाहलाई कार्यक्रममा बोलाउँदा आपत्ति जनाउनु पर्ने कुनै कारण नभएको बताएका छन् । आफू अहिले पनि नेकपा एमालेकै केन्द्रीय सदस्य रहेको उनको जिकिर छ ।
‘हो, म एमालेकै नेता हुँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाभियानको कार्यक्रममा मैले राजसंस्था ल्याउने भनें र ? मैले  कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र केपी शर्मा ओलीलाई पनि पत्र पठाएको थिएँ । राजालाई पनि पत्र नै पठाएको हुँ । उहाँ आउनुभयो । बस्नुभयो, जानुभयो । व्यक्तिगत सम्बन्धका आधारमा कार्यक्रममा बोलाउँदा आपत्ति जनाउनु पर्ने के छ र ?’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रसाईले भने ।
उनले आफू पूर्वराजा ज्ञानेन्द्रलाई भेट्न नागार्जुन दरबार नगएको पनि स्पष्ट पारे । प्रसाईले भने, ‘मैले राजालाई दमकमै पाँच-छचोटि भेटें । म उहाँलाई भेट्न नागार्जुन गएको छैन । उहाँ के छ खबर भन्नुहुन्छ। तपाईंको हजुरबुबाको के छ प्रसाईजी भन्नुहुन्छ । कसैका बारेमा उहाँले नराम्रो सोच्नु भएको छैन ।’
उनले आफूले पूर्वराजासँग कुनै पैसा नलिएको पनि दाबी गरे । प्रसाईले थपे, ‘यो जनयुद्ध होइन, नागरिक बचाउ महाभियान । म दुर्गा माताको कसम खाएर भन्छु– यसका निम्ति मैले राजाबाट एक रुपैयाँ लिएको छैन । यसमा दरबारको कुनै लगानी छैन । हरेक दिन चारपाँच जनाले आत्महत्या गरिरहेका छन् । मैले ब्रह्मले देखेको काम गरेको हुँ । यस्तो गणतन्त्र हामीले खोजेका थिएनौं ।’
तपाईंको कार्यक्रममा हजुरबुबा केपी शर्मा ओली किन आउनुभएन भन्ने पत्रकार धमलाको प्रश्नमा प्रसाईले भने, ‘मेरा हजुरबुबा पार्टीकै कार्यक्रममा झापा आउनुभएको थियो । दुइटा कार्यक्रम थियो । भ्याउनु भएन होला, आउनु भएन ।’



प्रतिक्रिया दिनुहोस्