काठमाडौं, ८ फागुन । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं पूर्वमन्त्री मात्रिका यादवले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पुस १० को सहमति तोडेको आरोप लगाएका छन् ।
‘पुस १० मा त्यस्तो कुनै ठोस सहमति भएको होइन । हाम्रो अध्यक्ष कमरेडले छलफल गर्दै जाऊँ भन्नुभएको हो । कुनै मौखिक समझदारी भएको थियो भने पनि त्यो कुरा केपी ओलीले तोडिसक्नुभएको छ । प्रतिगमन उहाँबाटै भएको हो । यो कुरा हामीले मात्र होइन, देशले भनेको छ, सर्वोच्च अदालतले पनि भनेको छ । संसदमा यसबारे नबोल्ने समझदारी भएको थियो । उहाँले उल्टै प्रतिगमनको वकालत गर्नुभयो । अब प्रतिगमन र अग्रगमन कसरी एकै ठाउँमा हुन सक्छन् ?’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने ।
नेता यादवले प्रधानमन्त्रीले विश्वासको मत लिने बेलामा राष्ट्रिय सहमति बनिसकेकाले अब राष्ट्रपतिको निर्वाचनमा पनि त्यस अनुसार जानुपर्ने औंल्याए । उनले थपे, ‘प्रचण्ड एउटा गठबन्धनबाट प्रधानमन्त्री हनुुभयो । तर विश्वासको मत लिने बेला राष्ट्रिय सहमतिको प्रधानमन्त्री बनिसक्नुभएको छ । अब राष्ट्रपति चाहिं एउटा दलको उम्मेदवारलाई कसरी बनाउने ? राष्ट्रिय सहमति मुलुकको आवश्यकता हो । शान्तिप्रक्रिया पूरा भएको छैन, संविधानको कार्यान्वयन बाँकी छ ।’
राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति एमालेको उम्मेदवार पनि हुन सक्ने उनले बताए । यादवले थपे, ‘ओलीजीले चाहेर मात्र त भएन नि । मुलुकको आवश्यकता पनि हेर्नुपर्छ । ओलीजीको बुद्धि नपुगे सबै गुमाउनु पर्ने हुन्छ । देउवाजीले जे गल्ती गर्नुभयो, त्यसले कांग्रेसको दुर्दशा भएको छ । ओलीजीले इच्छा राख्दैमा सबैले मान्नुपर्छ भन्ने छैन ।’
यसपटक मधेसी राष्ट्रपति बन्ने सम्भावना नरहेको पनि उनले ठोकुवा गरे । यादवले भने, ‘यसपालि मधेसीको पालो गयो । हामीले राष्ट्रपतिमा रामराजा प्रसाद सिंहलाई उठाएकाले कांग्रेसले रामवरण यादवलाई ल्यायो । त्यतिबेला हामीसँग सहमति गरेर कतिपय नेताहरुले धोका दिए ।’