काठमाडौँ,८ फागुन । ताप्लेजुङको फत्ताङलुङ गाउँपालिका–६ घुन्सा गाउँबाट आँखा शिविर सुरु भएको छ । तिलगङ्गा आँखा अस्पताल काठमाडौँको प्राविधिक सहयोग र गाउँपालिकाको सहजीकरणमा आजदेखि निःशुल्क आँखा शिविर सुरु भएको हो ।
गाउँपालिकका दुर्गम गाउँमा नौदिने निःशुल्क आँखा शिविरको अभियान सुरु भएको जनाइएको छ । शिविरको पहिलो दिन घुन्सा स्वास्थ्य चौकी घुन्सा, फागुन ११ गते ओलाङचुङ्गोला स्वास्थ्य चौकी, १३ गते हान्द्रुङ टार, १४ र १५ गते छिरुवा ग्राउण, १६ र १७ गते सिंवा स्वास्थ्य चौकी सिंवा बजार, १९ र २० गते तापेथोकमा शिविर सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।
पालिकाका छ स्थानमा सञ्चालन भएको शिविरमा आँखा जाँच गरी सामान्य प्रकृतिका बिरामीको उपचार गरिनेछ । मोतियाविन्दु र जटिल प्रकृतिका समस्या भएका बिरामीको भने पालिकाको केन्द्र तापेथोकमा यही फागुन २० र २१ गते हुने शिविरमा शल्यक्रिया गरिने गाउँपालिकाका अध्यक्ष राजन लिम्बूले बताए ।
उनका अनुसार पालिकाको केन्द्र तापेथोकको सरस्वती माध्यमिक विद्यालयमा हुने शिविरमा तिलगङ्गा आँखा अस्पताल काठमाडौँका वरिष्ठ नेत्र रोग विषेशज्ञ डा सन्दुक रुईतसहितको टोलीले उपचार गर्नेछ ।
साथै उक्त गाउँपालिकामा शिविर सञ्चालन हुने भए पनि ताप्लेजुङका अन्य पालिकाका बिरामीलेसमेत अवसरको सदुपयोग गर्न अध्यक्ष लिम्बूले बताए । शिविरमा आउने बिरामीले कुनै पनि शुल्न तिर्नु नपर्ने र बिरामीका लागि पालिकाले खानाको व्यवस्था गरेको छ । रासस