Logo

देउवा-गगनलाई हुस्सु बनाउने ओलीको दाउ, माधवलाई भेटेरै राष्ट्रपति बन्न प्रस्ताव



काठमाडौं, ८ फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको निर्वाचनलाई मध्येनजर गर्दै आफ्नो सक्रियता बढाएका छन् । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालले आफूसँग भएको सहमति लत्याउन खोजेको आशंकासहित ओलीले पार्टी विभाजन गरेर गएका माधव नेपालसँग भेटवार्ता गरी राष्ट्रपति बन्न प्रस्ताव गरेको खुलेको छ ।

विश्वस्त स्रोतकाअनुसार दुई नेताबीच हिजो साँझ महाराजगज, चुनिदेवीको एक घरमा भेटवार्ता भएको हो । एमाले र नेकपा (एकीकृत समाजवादी) का दोस्रो तहका नेताहरुको पहलमा दुई नेताबीच भेटवार्ता भएको हो । राष्ट्रपतिको निर्वाचनलाई लिएर कांग्रेस नेताहरुले माओवादीसँग सहमति गर्ने हतारो गरेको थाहा पाएपछि ओलीले यस्तो कदम चालेका हुन् ।

महाराजगञ्जमा ओली र नेपालबीच गोप्य भेटवार्ता भैरहेको बेला यता प्रधानमन्त्रीको निवास बालुवाटारमा भने कांग्रेस नेताहरुले प्रधानमन्त्री दाहालसँग भेटवार्ता गरिरहेका थिए । कांग्रेसले रामचन्द्र पौडेललाई अघि सार्ने लगभग निश्चित् गरेको छ । उता, एमालेले माधव नेपाललाई पार्टी एकतासहितको प्रस्तावमा राष्ट्रपतिको उम्मेदवार बनाउने तयारी गरेको छ।

आजमात्रै माधव नेपालले प्रचण्डसँग भेटवार्ता गरेका थिए । सो भेटवार्तामा माधव नेपालले आफूलाई राष्ट्रपतिमा अघि बढ्न ओलीको प्रस्ताव आएको ब्रिफिङ गरेको उच्च स्रोतको दाबी छ । माधव नेपालसँगको भेटवार्ता सकिएलगत्तै प्रचण्ड पार्टीको पदाधिकारी बैठकको लागि पेरिसडाँडा पुगेका थिए ।

सो बैठकले राष्ट्रपतिको बारेमा निर्णय गर्ने सम्पूर्ण जिम्मा अध्यक्ष प्रचण्डलाई दिने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । कतिपयले भने ओलीले माधव नेपाललाई अघि सारे प्रचण्डलाई पनि त्यसबाट दायाँबायाँ गर्ने छुट नभएको बताउन थालेका छन् । पुष १० गते ओलीले प्रचण्डलाई प्रधानमन्त्री बनाउने सरप्राइज निर्णय गरेका थिए ।

ओलीको कुटिल चालबाट कांग्रेस नेताहरु आश्चर्यमा परेका थिए । अहिले राष्ट्रपतिको निर्वाचनमा पनि ओलीले गठबन्धन जोगाउनेगरि चमात्कारिक कदम चाल्न लागेका छन् । ओलीको पछिल्लो कदमले सार्थकता पाए कांग्रेसमा खासगरी सभापति देउवा र महामन्त्री गगन थापा हुस्सु हुनेछन् । उनीहरुले पुष १० गतेभित्रै सत्ता गठबन्धन भत्किने दाबी गर्दै आएका थिए । तर, ओलीले भने कुनैपनि हालतमा गठबन्धन नभत्किने र एमालेले अघि सार्ने उम्मेदवारले नै राष्ट्रपति जित्ने दाबी गरेका छन। File Photo/ReportersNepal

 



प्रतिक्रिया दिनुहोस्