काठमाडौं, फागुन १० । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरूले अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपति बनाउन मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गरेका छन् । सोमबार प्रधानमन्त्रीको कार्यालय बालुवाटारमा लोसपाका नेताहरूले प्रचण्डलाई भेटेर यस्तो प्रस्ताव राखेका हुन् ।
राजेन्द्र महतो, शरतसिंह भण्डारी, सर्वेन्द्रनाथ शुक्ल र अनिल झासमेतका नेताहरूले ठाकुरलाई राष्ट्रिय सहमतिको राष्ट्रपति उम्मेदवार बनाउन प्रधानमन्त्री प्रचण्डसमक्ष डेलिगेसन गएका हुन् ।
‘गणतन्त्र, संघीयताको पक्षमा आवाज उठाउने र १२ बुँदे सहमतिदेखि नै यस दिशामा काम गरेको मान्छे महन्थ ठाकुरजी हुनुहुन्छ’, डेलिगेसनमा बालुवाटार पुगेका नेता शरतसिंह भण्डारीले भने– ‘सबै पक्षबाट राष्ट्रपतिका लागि उहाँ उपयुक्त व्यक्ति हुनुहुन्छ । त्यसैले ठाकुरजीलाई राष्ट्रिय सहमतिको राष्ट्रपतिको उम्मेदवार बनाइयोस् भन्ने हाम्रो माग छ ।’
प्रधानमन्त्री प्रचण्डले यो प्रस्तावमा आफू सकारात्मक रहेको जवाफ दिएको भण्डारीले बताए। ‘तपाईंहरूले नभनेकै भए पनि मैले महन्थजीका बारेमा सोचेकै हो’, प्रचण्डको भनाइ उद्धृत गर्दै भण्डारीले भने– ‘म सकारात्मक छु, अन्य दलसँग कुरा मिलाउनुस् ।’
लोसपाका नेताहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग ठाकुरलाई राष्ट्रपति उम्मेदवार बनाउन आग्रह गर्ने बताएका छन् । नेपाल समाचारपत्र दैनिकबाट