काठमाडौं, फागुन १० । प्रतिनिधिसभाको नयाँ नियमावली शुक्रबारभित्र पारित गर्ने तयारी गरिएको छ। नियमावली मस्यौदा समितिले नियमावलीको प्रस्तावित मस्यौदा प्रतिवेदन बुधबार संसद् बैठकमा पेस गर्दैछ।
नियमावली मस्यौदा समितिले प्रतिवेदन पेस गरेपछि यसमा सैद्धान्तिक छलफल हुनेछ भने त्यसमा संशोधन राख्न चाहने सांसद सदस्यले संशोधन प्रस्ताव दर्ता गर्न समय दिइनेछ।
करिब तीन दिनको समयमा नियमावली मस्यौदा पारित गर्ने तयारी भएको संसद् सचिवालयका एक अधिकारील बताए। संसद्का सांसदले अन्य ऐन बनाए झैं नियमावली बनाउने भएकाले संसद्को नियमावलीलाई ‘मास्टर्स अफ ल’ भनिन्छ। अन्य कानुन जसरी संसद्बाट बहुमतले पारित गरिन्छ त्यसैगरी संसद्को नियमावली पनि संसद्को बहुमतले पारित गर्ने हुँदा यो कानुन ऐनजस्तै बलियो हुने संविधानविदहरू बताउँछन्।
संसद्को नियमावलीमा राखिएको व्यवस्थाको उल्लंघन भएमा अन्य कानुन नै नहेरी कारबाही प्रक्रिया अघि बढाउन सकिने विज्ञहरूले बताउँछन्। संसद्को नियमावली संविधानसँग नबाझिने गरी बनाइन्छ।
नियमावलीले प्रतिनिधिसभाको अधिवेशन तथा बैठक सञ्चालनको विषयमा, बैठकको कार्यविधिका बारेमा, संसद्ले निर्णय गर्ने तरिकाका बारेमा, बैठकमा सुव्यवस्थाका बारेमा, राष्ट्रपतिबाट सम्बोधन र नीति कार्यक्रमका विषयमा, प्रश्नोत्तरका विषयमा प्रक्रियाहरूको व्यवस्था गरेको छ।
प्रधानमन्त्रीको प्रत्यक्ष प्रश्नोत्तर, प्रस्तावसम्बन्धी कार्यविधि, प्रस्तावमा संशोधन, स्थगत प्रस्ताव, संकल्प प्रस्ताव, अध्यादेश, व्यवस्थापन कार्यविधि, बजेट ल्याउने विषय, विश्वासको मत र अविश्वासको प्रस्ताव, महाभियोगको प्रस्ताव, सांसद सदस्य पक्राउ तथा निलम्बनको व्यवस्था, सभाको गोप्य बैठक तथा प्रतिनिधिसभाका समिति कति रहने भन्ने व्यवस्था, विशेषाधिकार समितिको गठन सम्बन्धी व्यवस्था राखिएको छ। संविधानको धारा १०४ को उपधारा (१) ले दिएको अधिकार प्रयोग गरी नियमावली बनाइएको छ। नागरिक दैनिकबाट