काठमाडौं, १० फागुन । नेकपा (माओवादी केन्द्र) का नेता रामनारायण बिडारीले पुस १० को नेकपा एमालेलाई राष्ट्रपतिको वचन दिइएको थिएन भन्ने माधवकुमार नेपाललाई प्रस्ताव गरेर केपी शर्मा ओलीले नै प्रस्ट पारेको दाबी गरेका छन् ।
‘आजसम्म हामीलाई यस्तो वचन दिइएको थियो, उस्तो भनिएको थियो भनेर हल्ला गरिएको थियो । लामो समय बोलचालै नभएको र बोल्दाखेरि पनि कुल्ला गर्नुपर्ने नाम आफ्नै मुखले लिनुभयो । ओलीजीलाई एकीकृत समाजवादीलाई समेटेर पहिलो पार्टी बनाउने लोभ त रहेछ नि । उहाँले माधव नेपालको नाम भित्री मनबाट सार्नुभएको छ कि अरु कुनै उद्देश्य छ, त्यो हामीले बुझेका छैनौं,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै बिडारीले भने । शनिबार एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं सांसद कृष्णकुमार श्रेष्ठ (किसान) को महाराजगन्जस्थित घरमा एमाले अध्यक्ष ओली र नेपालबीच भेटवार्ता भएको थियो ।
प्रचण्डले धेरै जनालाई राष्ट्रपति बनाउने वचन दिनुभएको छ, अब तपाईंहरुले माधव नेपाल, रामचन्द्र पौडेल वा कसलाई साथ दिने भन्ने प्रश्नमा बिडारीले भने, ‘राष्ट्रपति साझा व्यक्तित्व र सहमतिको आधारमा गर्नुपर्छ भन्ने हाम्रो सिद्धान्त हो । एमालेले माधवजीलाई सा र्यो भने कांग्रेसजीसँग पनि कुरा हुन्छ । माधवजी नहुने मान्छे त होइन । ओलीजीलाई त्यो परिस्थिति भएछ भने हामीलाई के बेफाइदा हुन्छ र ? प्रस्ताव एमाले वा कांग्रेस जसले गरे पनि व्यक्तिमा सहमति भयो भने माओवादीले छेक्दैन ।’
बिडारीले राष्ट्रपतिका लागि शेरबहादुर देउवा नै सबभन्दा उपयुक्त पात्र भएको बताए । उनले भने, ‘यो मेरो व्यक्तिगत विचार हो । उमेर, परिपक्वता, पटक पटक प्रधानमन्त्री भएको, कांग्रेसको सभापति पनि भएका हैसियतले उहाँ सबैभन्दा उपयुक्त उम्मेदवार हो । उहाँले चाहनुभएन ने रामचन्द्र र सिटौलाजी पनि हुन सक्नहुन्छ । बाबुरामजी पनि हुनुहुन्छ । माधव नेपालजी पनि हुनुहुन्छ । तर महन्थ ठाकुरजीको चाहिं भन्न सकिन्न । हाम्रो प्रस्ताव खास छैन ।’
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फस्ने काम नगरेको दाबी पनि गरे । बिडारीले भने, ‘सहमति गरेर राष्ट्रपति बनाऊँ भन्ने फस्ने काम हो र ? एउटै पार्टीलाई राष्ट्रपति र प्रधानमन्त्री दिँदा के के भोग्नुपर्दो रहेछ भन्ने त हामी सबैले झलेकै छौं । प्रचण्ड संकटमा पर्नुभएको छैन । तर प्रशस्त चुनौती छन् । अहिले कांग्रेसलाई धोका दिने कुरा छैन । कि कांग्रेसको हुन्छ कि माधव हुनुहुन्छ । तर एमालेको हुँदैन । ओलीजीको एसम्यान चाहिं राष्ट्रपति हुन सक्दैन ।’