काठमाडौं, फागुन ११। आयातमा नगद मार्जिन हटाउँदा पनि नबढेपछि सात महिनामा १९ दशमलव ९० प्रतिशतले आयात घटेको छ । निर्यातमा पनि २९ दशमलव शून्य ३ प्रतिशतले कमी आएको छ ।
सरकारले विलासिता वस्तुको आयात कडाइमा प्रतिबन्ध लगाएर फुकुवा गर्दा पनि आयात नबढेको हो । यद्यपि, गत साउनदेखि माघसम्मको अवधिमा सबैभन्दा बढी आयात माघ महिनामा भएको छ ।
गत आर्थिक वर्ष २०७८÷७९ साउनदेखि माघसम्ममा ११ खर्ब ४७ खर्ब रुपैयाँबराबरको आयात भएको थियो । चालू आवको सोही अवधिमा ९ खर्ब १९ अर्ब रुपैयाँबराबरको मात्र आयात भएको भन्सार विभागको तथ्यांक छ ।
गत आवको साउनदेखि माघसम्ममा १ खर्ब ३१ अर्ब रुपैयाँबराबरको सामान निर्यात भएकामा चालू आवको सोही अवधिमा ९३ अर्ब ४३ करोड रुपैयाँबराबरको मात्र सामान निर्यात भएको छ ।
आयात र निर्यात दुवै घट्दा गत वर्षको तुलनामा व्यापार घाटा पनि १८ प्रतिशतले घटेको छ । गत आव २०७८÷७९ को साउनदेखि माघसम्ममा १० खर्ब १५ अर्ब रुपैयाँबराबरको व्यापार घाटा भएकामा चालू आवको सोही अवधिमा ८ खर्ब २५ अर्ब रुपैयाँ घाटा भएको छ ।
भन्सार विभागको तथ्यांकनुसार कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ९० दशमलव ७७ प्रतिशत छ भने आयातको हिस्सा ९ दशमलव २३ प्रतिशत छ ।
नेपालले १ सय ५२ भन्दाबढी मुलुकसँग वैदेशिक व्यापार गरिरहेको छ । जसमध्ये सबैभन्दा ठूलो व्यापार भारतसँग रहेको छ । भारतसँग ५ खर्ब ७० अर्ब ९६ करोडको आयात र ६६ अर्ब २२ करोड ६५ लाख रुपैयाँको निर्यात भएको छ । भारतसँग नेपालको व्यापार घाटा ५ खर्ब ४ अर्ब ७४ करोड रुपैयाँ भएको छ । यसैगरी, चीनसँग १ खर्ब २५ अर्ब ५ करोडको आयात हुँदा मात्र ४२ करोडको वस्तु निर्यात भएको छ । दोस्रो ठूलो व्यापार घाटा रहेको चीनसँग १ खर्ब २४ अर्बको व्यापार घाटा रहेको छ ।
व्यापार घाटा रहेको तेस्रो मुलुकमा इन्डोनेसिया रहेको छ । इन्डोनेसियाबाट २६ अर्ब ७२ करोडको सामान ल्याउँदा नेपालबाट १० करोडको मात्र सामान पठाउन सकिएको छ । जसले गर्दा इन्डोनेसियासँग २६ अर्ब ६२ करोडको व्यापार घाटा रहेको छ । राजधानी दैनिकबाट