Logo

प्रचण्ड र देउवाको साँठगाँठ भइसकेको छ, राष्ट्रपति कांग्रेसकै हुन्छः डा. दीक्षित



काठमाडौं, १२ फागुन । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले संकटकाल लगाएर राष्ट्रपति शासन चलाउनका लागि विभिन्न चलखेल भइरहेको आरोप लगाएका छन् ।
‘दलहरुले तीन करोड जनतालाई देखेनन् । पाँच जना नेताको स्वार्थ मात्र हावी भयो । यस्तो अन्धा र गन्धा राजनीतिको नतिजा के होला ? देश र जनतालाई के चाहिएको छ ? देश र जनताको इज्जत कसरी बढ्छ ? भन्ने तर्फ नेताहरुको सोच नै भएन । अब बीचमा ठूलो विद्रोह भएन भने राष्ट्रपतिले धेरै चलखेल गर्ने स्थिति बन्छ । दलहरु मुलुकमा संकटकाल लगाएर राष्ट्रपति शासन चलाउने मनस्थितिमा छन्,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै दीक्षितले भने ।
देश र जनतालाई ख्याल गर्ने हो भने गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्ने पनि उनले औंल्याए । दीक्षितले भने, ‘भारतमा अब्दुल कलाम जस्तो न्युक्लियर साइन्टिस्टलाई राष्ट्रपति बनाउँदा देशको कत्रो इज्जत बढ्यो । नेपालमा दमननाथ ढुंगाना, सन्दुक रुइत, महावीर पुन, लोकराज बराल जस्ता व्यक्ति पनि छन् नि ।’
राष्ट्रपति निर्वाचनमा प्रचण्ड र देउवाको साँठगाँठ भइसकेको पनि दीक्षितले बताए । उनले भने, ‘प्रचण्डले माधव नेपालको नाममा ओलीलाई बल्छी हालेको मात्र हो । माधव नेपाल फुरुंग परेर प्रचण्डकहाँ दौडेका छन् । तर प्रचण्डको स्वार्थ देउवासँग मिल्नुमा छ । अब पुरानो गठबन्धन ब्युँतन्छ । राष्ट्रपति कांग्रेसबाटै हुन्छ ।’
एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि त्यसको संकेत पाएको दीक्षितले औंल्याए । उनले थपे, ‘जनयुद्ध दिवसको छुट्टी दिएको दिन बोलेनन् । माओवादीले राष्ट्रपति दिँदैन भन्ने थाहा पाएपछि हिजो आएर बोले । अहिले प्रचण्ड प्रधानमन्त्री भए पनि हालीमुहाली त ओलीकै हो । यस्तो दुईजिब्रे पनि राजनीति हुन्छ ? त्यतिबेलै सच्चाउनुस् भन्न सक्नुपथ्र्यो । कांग्रेसले पनि बोलेन । सबैलाई प्रचण्डको साथ चाहिएको थियो ।’
नेपालको राजनीतिमा भारतले हात झिकेको जस्तो देखिएको पनि उनले टिप्पणी गरे । उनले भने, ‘अस्ति क्वात्रा आए, गए । भारतले चीन र अमेरिकालाई चेक एन्ड ब्यालेन्स राखेको हो । अहिले हात झिकेजस्तो देखियो । चिनियाँहरु ज्यान फालेर लागेका छन् । चाइना हावी भए जस्तो लागेर अमेरिका हाम फालेर आएको छ । यसले त नेपाल विदेशीको चंगुलमा पर्ने देखियो ।’



प्रतिक्रिया दिनुहोस्