Logo

बालुवाटारमा दाहाल, देउवा, उपेन्द्र र माधव नेपालबीच निर्णायक छलफल सुरु, प्रभु साह पनि मिसिए



काठमाडौं, १२ फागुन । पूरानो गठबन्धन व्युँताउनेगरि कांग्रेस, माओवादी केन्द्र, जसपा र नेकपा (एकीकृत समाजवादी) का शीर्ष नेताहरुको निर्णायक बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा कांग्रेसबाट सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापा सहभागी छन् ।

माओवादी केन्द्रबाट प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ छन् । जसपाबाट उपेन्द्र यादव र नेकपा (एकीकृत समाजवादी) बाट माधवकुमार नेपालमात्रै सहभागी छन् । बैठकमा आम जनता पार्टीका अध्यक्ष एवम् सांसद प्रभु साहपनि सहभागी छन् । प्रधानमन्त्री दाहालनिकट मानिने सांसद साहको उपस्थितिलाई पनि अर्थपूर्ण रुपमा हेरिएको छ ।

राष्ट्रपतिको निर्वाचनको लागि भोलि उम्मेदवारी दर्ता हुँदैछ । त्यसको अघिल्लो दिन दलहरु निर्णायक वार्तामा सहभागी भएका हुन् । प्रचण्ड एमालेसहितको गठबन्धनबाट प्रधानमन्त्रीमा नियुक्त भएका थिए । तर, उनी दुई महिना नबित्दै एमालेसहितको गठबन्धन तोडेर कांग्रेससम्मिलित नयाँ गठबन्धन बनाउन लागिपरेका छन् ।

पुष १० मा एमालेलाई राष्ट्रपति दिने एमाले र माओवादीबीच समझदारी भएको चर्चा छ । एमालेले राष्ट्रपतिमा आफ्नो उम्मेदवारी दिने बताईरहेको छ । एमालेले प्रधानमन्त्री दाहालले भनेझैं सहमति कायम गर्नको लागि माधवकुमार नेपाललाई राष्ट्रपतिमा अघि सार्ने प्रस्ताव गरेको छ । file photo



प्रतिक्रिया दिनुहोस्