काठमाडौं, १२ फागुन । राष्ट्रपतिको निर्वाचनको लागि साझा उम्मेदवार तय गर्ने र सत्ता सहकार्यकोलागि पावर सेयरिङ गर्ने भन्दै बसीरहेको ७ दलको बैठकमा जनमोर्चापनि थपिएको छ।
साझा उम्मेदवार तय गर्न यसअघि ४ दलको बैठकबसिरहेकै बेला ३ दल थपिएका थपिएका थिए।
कांग्रेस, माओवादी केन्द्र, जसपा र नेकपा (एकीकृत समाजवादी) को बैठकबसिरहेको बेला लोकतान्त्रीक समाजवादी पार्टी(लोसपा), जनमत र नागरिक उन्मुक्ति पार्टी(नाउपा) थपिएका हुनभने अहिले राष्ट्रिय जनमोर्चा पार्टीपनि थपिएको हो।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा आजै राष्ट्रपतिको उम्मेदवारबारे सहमति गर्ने बताईएको छ। यसअघि प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग एमाले अध्यक्ष केपी शर्मा ओलीले दुई घण्टा लामो छलफल गरेका थिए।
सो छलफलमा ओलीले राष्ट्रपतिमा माधव नेपालको नाममा सहमति भएर आए आफ्नो दलले पनि समर्थन गर्ने बताएका छन्। सो क्रममा दाहालले नेकपा व्युँताउनेबारे पनि छलफल गरेको बताईएको छ। अहिले चार दलको बैठकमा भने माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सहभागी छन्।
कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगनकुमार थापा सहभागी छन्। जसपाबाट अध्यक्ष उपेन्द्र यादव र नेकपा (एकीकृत समाजवादी) बाट अध्यक्ष माधवकुमार नेपालमात्रै सहभागी रहँदा लोसपाका अध्यक्ष महन्थ ठाकुर, जनमतका वरिष्ठ उपाध्यक्ष अबदुल खाँ, नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रंजिता श्रेष्ठ र जनमोर्चाबाट चित्रबहादुर केसी रहेका छन्।