Logo

१५ वर्षमा ४५ लाखले अवलोकन गरे नारायणहिटी सङ्ग्रहालय



काठमाडौं, फागुन १६ । नारायणहिटी सङ्ग्रहालय खुलेको १५ वर्ष अवधिमा झन्डै ४५ लाखले सङ्ग्रहालय अवलोकन गरेका छन् । आर्थिक वर्ष २०६५ देखि ०७६ सम्ममा ३३ लाख ९९ हजार २ सय ३१ ले अवलोकन गरेका थिए ।

पछिल्लो तीन वर्षमा करिब १० लाखले अवलोकन गरेको सङ्ग्रहालय तथा गणतन्त्र स्मारक विकास समितिका सूचना अधिकारी पुरुषोत्तम थापाले जानकारी दिए । अवलोकन गर्नेमा हालसम्म सबैभन्दा बढी नेपाली रहेका छन् ।

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २०६५ साल असार १ गते नारायणहिटी दरबारलाई राष्ट्रिय सङ्ग्रहालय घोषणा गरेका थिए । त्यसको ८ महिनापछि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले २०६५ साल फागुन १५ गते नारायणहिटी सङ्ग्रहालयको औपचारिक उद्घाटन गरेका थिए। पछिल्लो समय सार्क मुलुकका पर्यटकको आकर्षण बढ्दै गएको समितिले जनाएको छ । नेपालमा आउने भारतीय मुलुकको पर्यटकमध्ये अधिकांशले सङ्ग्रहालय अवलोकन गर्ने गरेका छन् । समितिले सङ्ग्रहालय अवलोकन गर्न विद्यार्थीले ५०, सर्वसाधारणलाई २ सय, सार्क र चीनका पर्यटकलाई जनही ५ सय र अन्य मुलुकका पर्यटकसँग १ हजार रुपैयाँ लिने व्यवस्था छ ।

सङ्ग्रहालय प्रशासनले ९ वर्षभन्दा मुनि र ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था गरेको छ । समितिले सोही टिकटको आधारमा स्वर्गीय राजा वीरेन्द्रको निजी निवास श्रीसदन र गणतन्त्र स्मारकसमेत अवलोकन गर्न मिल्ने व्यवस्था गरेको छ ।

७ सय ५४ रोपनी क्षेत्रफल रहेको नारायणहिटी परिसरमा सङ्ग्रहालयले ३ सय १८ रोपनी क्षेत्रफल मात्रै ओगटेको छ । सङ्ग्रहालयमा स्वर्गीय राजा वीरेन्द्रको शुभ–राज्यभिषेकको सुनौलो बग्गी प्रदर्शनीमा राखिएको छ । सङ्ग्रहालयमा राजा वीरेन्द्र, युवराज दीपेन्द्र, अधिराजकुमारी श्रुति र अधिराजकुमार निराजनले बच्चामा प्रयोग गरेका सवारी साधन राखिएको छ ।

सङ्ग्रहालयभित्र ३१ वटा कक्ष खोलिएको छ । अवलोकनका लागि खुला गर्न बाँकी विभिन्न सदनको बारेमा अध्ययन शुरु गरेका भइरहेको सङ्ग्रहालय प्रशासनले जनाएको छ । त्यसै गरी राजा त्रिभुवन र महेन्द्रले प्रयोग गरेका तीनवटा सवारीसाधन, हेलिकोप्टरलगायतका, ऐश्वर्य बगैंचालगायतको संरचना खुला गर्ने तयारीमा छ । नेपाल माचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्