काठमाडौँ, फागुन १८। नेपाल पर्यटन बोर्डले नेपाल भ्रमणमा आउने विदेशी पर्यटकले गर्ने औसत खर्चबारे अध्ययन सुरु गरेको छ। बोर्डका निर्देशक मणिराज लामिछानेले राष्ट्रिय अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान कति रहेको छ भन्ने पत्ता लगाउन विदेशी पर्यटकले नेपालमा गर्ने दैनिक औसत खर्चको विवरण लिन सुरु गरिएको बताए।
बैङ्किङ प्रणाली (डिजिटल पेमेन्ट)मार्फत पर्यटकले गर्ने खर्चको तथ्याङ्क पत्ता लागे पनि नेपाल बसाइका क्रममा पर्यटकले गर्ने नगद खर्च तथ्याङ्कमा नसमेटिने भएकाले यस अध्ययनले पर्यटकले गर्ने खर्चको थप प्रस्ट तथ्याङ्क निकाल्न सहयोग पुग्ने उनको भनाइ छ। अध्ययनका लागि ४० दिनको समयावधि तोकिएको छ।
उनले भने, “मासिक वा वार्षिक रूपमा यति सङ्ख्यामा पर्यटक भित्रिए भनेर तथ्याङ्क निकाल्छौँ तर पर्यटकले गर्ने खर्च, उनीहरूको नेपाल बसाइ अवधि र मौसममा भर पर्छ। पछिल्लो एक दशकको तथ्याङ्क हेर्दा पर्यटक आगमन बढ्दै जाँदा पर्यटकले गर्ने खर्चसमेत बढ्दै गएकाले यकिन विवरण थाहा पाउन अध्ययन थालिएको हो।”
यस अध्ययनका लागि पर्यटन बोर्डका कर्मचारी र बोर्डको समन्वयमा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानका विद्यार्थीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १० वटा प्रश्नको फाराम भरेर दैनिक दुई हजार नमुना सङ्कलन गरिने गरिनेछ । सन् २०२१ मा एक विदेशी पर्यटकले दैनिक औसत ४८ अमेरिकी डलर खर्च गरेको पाइएको र सन् २०२२ मा पनि सोही हाराहारीमा पर्यटकले खर्च गरेको सरकारी तथ्याङ्क बोर्डसँग छ। ‘टुरिज्म स्याटेलाइट अकाउन्ट’को प्रमुख टुलका रूपमा जारी यस अध्ययनबाट सन् २०२३ मा यो दर बढेर ७० देखि ७५ डलर पुग्ने विश्वास रहेको उनले बताए ।
आर्थिक सर्वेक्षण २०७८/७९ अनुसार सन् २०२१ मा प्रतिपर्यटकको औसत बसाइ अवधि १५.५ दिन र प्रतिदिन प्रतिपर्यटक खर्च ४८ अमेरिकी डलर रहेको देखिन्छ। उक्त खर्च सन् २०२० मा औसतमा खर्च प्रतिपर्यटक प्रतिदिन ६५ अमेरिकी डलर र बसाइ अवधि १५.१ दिन पुगेको थियो। सन् २०२१ मा बसाइ अवधि वृद्धि भएर १५.५ दिन पुगेको छ तर पर्यटकले गर्ने दैनिक खर्च भने ६५ अमेरिकी डलरबाट ४८ डलरमा सीमित छ। जुन सन् २०२० को तुलनामा २६.१ प्रतिशत कम हो । सन् २०२१ मा नेपाल भ्रमणमा आएका विदेशी पर्यटकबाट १३ अर्ब ५० करोड ११ लाख रुपियाँ बराबरको वैदेशिक मुद्रा आर्जन भएको देखिन्छ।
सन् २०२१ मा नेपाल भित्रिएका पर्यटकमध्ये ६६.८ प्रतिशत बिदा तथा मनोरञ्जन, १०.३ प्रतिशत पर्वतारोहण÷साहसिक यात्रा÷पदयात्रा, ७.४ प्रतिशत तीर्थयात्रा र १५.५ प्रतिशतले अन्य विभिन्न उद्देश्यले नेपाल भ्रमण गरेका थिए। आरोहण र सिकार गर्ने गरी आउने पर्यटक बढी खर्चालु पर्यटकमा गनिन्छन्।