काठमाडौं, १८ फागुन । आईसीसी यू-१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगिता अन्तर्गत आज युएईलाई हराउँदै नेपाल विश्वकपका लागि छनोट भएको छ।
यूएईलाई ६ रनले हराउँदै सन् २०२४ मा श्रीलंकामा हुने विश्वकपका लागि नेपाल छनोट भएको हो।
यूएईको अज्मानस्थित इडेन गार्डेन ओभलमा भएको खेलमा नेपालले युएईलाई १ सय ९३ रनको लक्ष्य दिएको थियो।
जवाफी ब्याटिङमा उत्रिएको यूएईले ४८ ओभरमा सबै विकेट गुमाएर १ सय ८४ रन मात्रै बनाउन सक्यो।
यूएईकालागि इथान काल्लले ६६ बलमा ५० रन जोड्दा आर्यान सक्सेनाले ३४ रन जोडे। आर्याश शर्माले ३२ तथा अम्मर बदामीले १९ रन जोडे।
नेपालका लागि दिपेश कँडेलले ५ विकेट लिँदा सुवास भण्डारी र हेमन्त धामीले समान २/२ विकेट लिए।
नेपालका कप्तान देव खनालले ८४ बलमा ३ चौका र १ छक्का ५१ रनको अर्धशतकीय ईनिङ खेले। यस्तै विशाल विक्रम केसीले ५० बलमा ३८ रन जोडै।
२०१६ को विश्वकपपछि पहिलो पटक नेपाल विश्वकपमा छनोट भएको हो।