काठमाडौं, फागुन २० । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले आर्थिक रूपमा विपन्न युवाहरूलाई रोजगारीको अवसर सृजना गर्न भन्दै अहिलेसम्म १२ अर्ब ९३ करोड ११ लाख ८५ हजार रूपैयाँ खर्च गरेको छ ।
कोषको १४ औं स्थापना दिवस अवसरमा शुक्रबार भक्तपुरमा आयोजित कार्यक्रममा कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारीले विभिन्न व्यक्ति तथा जातजातिअनुसारको व्यासायिक खेती सेवामूलक स्वरोजगार कार्यक्रम सञ्चालन गर्न सहुलियत ब्याजदरमा प्रतिव्यक्ति २ लाखसम्म आवधिक ऋण उपलब्ध गाराई आर्जनमा लगाइएको जनाएका हुन् ।
४ अर्ब २४ करोड ६५ लाख ७ हजार ६ सय ७५ रकम लगानीमा रहेको, ३ अर्ब ८३ करोड ८ लाख ८६ हजार ७ सय ८२ रकम विपन्न वर्गले कर्जा प्राप्त गरेको, ८० करोड १८ लाख ८२ हजार ६ सय ९१ रूपैयाँ सञ्चित रकम रहेको जानकारी दिँदै अधिकारीले मुलुकभित्र २ हजार ६ सय ५७ सहकारी र बैंक तथा वित्तीय संस्था ४० वटा रहेको जनाए ।
कोषले अहिलेसम्म ९५ हजार १ सय ६१ जनालाई स्वरोजगार सृजना गरेको कोषको तथ्यांकले बताएको छ । जसमा ४२ हजार ५ सय ६३ जनालाई अभिमुखीकरण तालिम प्रदान गरिएको छ भने व्यवसायी संख्या ८ हजार ४ सय ४० जनालाई सिपमूलक तालिम प्रदान गरिएको तथ्यांकले उल्लेख गरिएको छ । ब्याज अनुदान वितरण गरिएको संख्या १४ हजार ६२ रहेको र ब्याज अनुदान भुक्तानी भएको रकम १४ करोड ५८ लाख ५५ हजार ३ सय ५४ रहेको छ ।
हालसम्म कर्जा व्यवस्थापन शुल्क भुक्तानी वितरण गरिएको व्यवसायी संख्या २२ हजार ३ सय ४४ जना रहेको शुक्रबार कोषको वार्षिक उत्सवमा खुलासा गरिएको थियो । त्यस्तै स्वरोजगार बिमा गरिएको व्यवसायी ७० हजार ८ सय ४५ जना, बिमा क्षतिपूर्ति उपलब्ध गराइएका व्यवसायी १ हजार १ सय ५६ जना, बिमा क्षतिपूर्ति उपलब्ध गराइएको रकम ६ करोड ९६ लाख ९० हजार ५ सय १ रहेको र लगानी भएको जिल्ला ७५ वटा भएको उनले बताए । आजको नागरिक दैनिकबाट