कैलाली, फागुन २० । कैलालीको चुरे गाउँपलिका–५ निङ्लाडी सुन्दर क्षेत्र हो । यहाँको हरियाली जङ्गलबीचमा चारैतिर घेराबार गरी माथिबाट नीलो र सेतो तारजालीले ढाकिएका फार्मभित्र चिरबिर–चिरबिर गर्दै धुलोमाटो खेलिरहेका कालिज हेर्दै आकर्षक देखिन्छन् । तराई क्षेत्रबाट चुरे खानीडाँडा पुग्ने धेरैजसोले कालिज फार्म अवलोकन गर्छन् ।
परिवारसहित भीमदत्त राजमार्गको छेउमै रहेको निङ्लाडीमा रहेको जङ्गलमा कालिजपालन गरेर बसेका कैलाली टीकापुरका ३२ वर्षीय विकास न्यौपाने फार्ममै व्यस्त हुन्छन् । उनी कालिजमात्र होइन, कुखुरा, लौकट र टर्की पाल्छन् । कालिजपालन गर्ने उद्देश्यले फार्ममा पुग्नेलाई सल्लाह दिन्छन् ।
कालिजपालनबाट घाटा नहुने उनको अनुभव छ । “कालिजपालनमा धैर्य चाहिन्छ, घाटा हुँदैन”, उनले भने, “मैलेमात्र महिनाको रु डेढदेखि दुई लाख आम्दानी गर्छु ।” पछिल्लो समय ग्राहकको माग धान्न नसकिरहेको उनको भनाइ छ ।
सुप एकीकृत कृषि तथा पशुपक्षी फार्म सञ्चालन गरेका उनले सुदूरपश्चिममै कृषि व्यवसायको सम्भावना देखेर काठमाडौंबाट यता आएको सुनाए । सुरुमा रु ३० लाख उनको फार्ममा लगानी भएको छ । अहिले लगानी ६० लाख पुग्यो । फार्ममा आफ्नो परिवार, भाइ र एक अर्का कामदारसहित चार जना व्यस्त हुन्छन् । “दानापानी खुवाउनेदेखि रेखदेखसम्म २४ घण्टा खटिन्छौँ”, विकासले भने, “त्यसको प्रतिफल राम्रै छ ।”
सो फार्ममा कालिजको माग देशभर र भारतबाट पनि आउँछ । “नेपालमा मात्र होइन भारतको केरालासमेतबाट माग आउँछ तर पुर्याउन सकेका छैनौँ”, उनले भने ।
कालिज चर्न कुखुरालाई भन्दा फराकिलो ठाउँ चाहिन्छ । त्यसैअनुसार यहाँ फराकिलो जङ्गल छ । कालिजलाई १८ देखि २२ डिग्री तापक्रम उपयुक्त मानिन्छ । आहारामा हरियो घाँस र कुखुरालाई दिने दाना दिइन्छ ।
दश वर्षको सम्झौतामा वार्षिक रु एक लाख २५ हजार भाडा तिर्ने गरी ३० रोपनी जग्गा भाडामा लिएर सो व्यवसाय सुरु गरिएको हो । साढे तीन सय कालिजका चल्लाबाट सुरु भएकोमा अहिले भाले–पोथी गरी तीन हजार पुगेको छ । बिक्री पछि अहिले छ सयमात्र कालिज फार्ममा छन् । सो फार्मबाट कालिज, कुखुरा, टर्की र लौकाटको ‘होम डेलिभरी’ हुन्छ ।
सुरुमा भिरालो जमिनमा बस्ने टहरादेखि तार जालीसम्म गर्दा सो फार्ममा धेरै लगानी भएको थियो । “फार्म हेर्नमात्र धेरै आउँछन्”, उनले भने, “ग्राहकका लागि त्यहीँ बनाएर खान मिल्ने व्यवस्था गरेका छौँ ।”
फार्ममा काम गर्ने कामदारसमेत नभेटिएको उनको गुनासो छ । “कालिज, खुकुरा बिरामी भए आफैँ गएर औषधि ल्याउँछु । चार वर्ष अनुभव भयो”, उनले भने, “डेलिभरिदेखि चल्लाको रेखदेख गर्न आफैँ खटिनुपर्छ ।” रासस