Logo

एलपी ग्यासको खपत घट्यो



काठमाडौं, फागुन २१ । काठमाडौं शङ्खमूलकी गृहिणी कविता थापाको चार जनाको परिवारलाई एक सिलिन्डर खाना पकाउने ग्यासले डेढ महिना पुग्थ्यो । इन्डक्सन चुलो प्रयोग गर्न थालेपछि अहिले दुईदेखि तीन महिना पुग्ने गरेको छ ।

“पाँच,छ महिनादेखि नियमित रूपमा इन्डक्सन बालेकी छु, यसको प्रयोग गर्दा छिटोछरितो र सजिलो हुँदा ग्यासको प्रयोग कम हुने गरेको छ,” उनले भनिन् ।

काठमाडौं बुद्धनगरकी भावना न्यौपानेको घरमा पनि पछिल्लो समय नियमित रूपमा इन्डक्सन चुलो नै प्रयोग भइरहेको छ । ग्यास चुलो त आक्कलझुक्कल मात्रै प्रयोग हुन्छ । ग्यासको मूल्य बढेर एक हजार आठ सय पुगेको र इन्डक्सन प्रयोग गर्दा सस्तो पर्ने हुँदा नियमित रूपमा प्रयोग गर्ने गरेको उनले बताईन् ।

थापा र न्यौपाने मात्र नभएर पछिल्लो समय धेरैले बिजुलीबाट चल्ने इन्डक्सन चुलो प्रयोग गर्न थालेका छन् । एलपी ग्यासको मूल्य बढेको र विद्युत् आपूर्ति पनि नियमित हुने गरेकाले सहरी क्षेत्रका भान्छाघरमा ग्यासको खपत कम र बिजुलीको खपत बढ्दै गएको छ । यसलाई घट्दो एलपी ग्यास माग र आयातले पुष्टि गरेको छ ।

नेपाल आयल निगमका अनुसार चालू आर्थिक वर्षको सात महिना (साउन–माघ)सम्ममा खाना पकाउने ग्यासको खपत दुई लाख ९६ हजार ५१ मेट्रिक टन भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा तीन लाख १८ हजार ४०१ मेट्रिक टन ग्यास खपत भएको थियो । खाना पकाउने ग्यासको खपतमा ७ प्रतिशतले कमी आएको हो ।

सामान्यतः वार्षिक रूपमा ग्यासको खपत बढ्दै जाने गरेकामा यस वर्ष भने खपत घटेको हो । गोरखापत्र पत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्