काठमाडौं, फागुन २३ । सद्भाव, सौन्दर्य, समानता, स्वच्छता सौहार्दता र रसरङको रङ्गीन पर्व होली तराई – मधेशमा आज हर्षोल्लासपूर्वक मनाइँदैछ।
भौगोलिक संरचना र मान्यताअनुरूप मधेशमा फागुन शुक्ल पूर्णिमाको भोलिपल्ट, हिमाली र पहाडी भेगमा पूर्णिमाका दिन मनाइने यो पर्वलाई हिमाली र पहाडी भेगमा ‘फागु’ र मधेशमा ‘होली’ भनिन्छ । फागु पर्वलाई मैथिली भाषामा ‘फगुआ’ र ‘होरी’ भानिन्छ। पहाडी र हिमाली क्षेत्रमा हिजै होली मनाइएको छ। आज तराईका जिल्लामा सार्वजानिक बिदा छ।
होरी, होली, फगुआ र फागुका नामले मनाइने यो प्रेम, खुशी, सौहार्दता, स्नेहको चाड पनि हो । प्राचीन ग्रन्थमा यसको चर्चा वसन्त महोत्सव र काम महोत्सवका रूपमा गरिएको छ । सबै प्रकारका भेदभावलाई भष्म गरी परस्परमा रङ हाल्दै सबैलाई रशरङ्गले तरङ्गीत तुल्याउने होली उल्लास र रङ्गीचङ्गीको पर्व पनि हो । जैमिनी, शबर, वात्स्यायन आदिद्वारा रचित ग्रन्थका साथै भविष्यपुराण, लिङ्गपुराण, वराहपुराण, हिमादी आदिमा पनि यसको वर्णन पाइन्छ ।
सबैलाई एउटै रङ्गमा रङ्गाउने होली पर्व समानता र सद्भावको प्रेरणा स्रोत रहिआएको छ। हिन्दू, मुस्लिम, सिख, इसाई, मङ्गोल, किराँत, राई आदिमा एकताको सन्देश दिँदै यस पर्वले सबैको मनमा उमङ्ग एवं उत्साहको सञ्चार गर्दै आएको छ । असत्यमाथि सत्यको, छलमाथि निष्छलताको र अधर्ममाथि धर्मको विजयको प्रतीक होलीले अनेकतामा एकता कायम गर्दै आएको छ ।
वैदिक यज्ञसँग जोडिएको होरीमा आगोमा चीर डढाउने यो पर्वमा मिथिलाञ्चलमा नयाँ अन्नलाई आगोमा पोलेर प्रसादका रूपमा खाने चलन पनि छ ।
यसै क्रममा होली पर्वको परम्परा ऋतुराज वसन्तका मित्र मदन अर्थात् कामदेवको पूजाबाट शुरू भएकाले यस उत्सवलाई मदनोत्सव या वसन्तोत्सवका रूपमा पनि मनाइन्छ ।