काठमाडौं, २३ फागुन । सर्वोच्च अदालतले प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई फागुन २५ गते अदालतमा हाजिर हुन आदेश दिएको छ । आज (मंगलबार) मात्रै प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध सर्वोच्चमा दायर गरिएको रिट दर्ता भएको थियो । उक्त मुद्दाको पेशी भने फागुन २५ गतेलाई तोकिएको छ । अधिवक्ता ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीलगायतले प्रचण्डविरुद्ध रिट हालेका हुन् ।
२०७६ माघ १ मा माघीको अवसरमा टुँडिखेलमा आयोजित एक कार्यक्रममा प्रचण्डले द्वन्दकालमा मारिएका १७ हजारमध्ये आफूले ५ हजारको मात्रै जिम्मा आफूले लिने भन्ने अभिव्यक्ति दिएका थिए । प्रचण्डको त्यही अभिव्यक्ति विरुद्ध फौजदारी अभियोगमा छानबिन र कारबाही हुनुपर्ने आदेशको माग गरिएको छ ।
यता, माओवादी र पूर्व माओवादीहरु एकजुट भएर संक्रमणकालिन मुद्दा शान्तिसम्झौता अनुसार टुँगो लगाउनुपर्ने बताएका छन् । आजमात्रै माओवादी विचारधाराका ८ दलको बैठक बालुवाटारमा बसेको थियो । सर्वोच्च अदालतबाट खडा गरिएको तारेख पर्चामा भनिएको छ–‘२०७९ साल फागुन २५ गते दिनको १० बजे पेशी तारेखमा यस अदालतमा हाजिर हुन आउनुहोला ।” file photo