काठमाडौं, २४ फागुन । नेकपा (माओवादी क्रान्तिकारी) का वरिष्ठ नेता सीपी गजुरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र आफ्नो पार्टीबीच एकता हुने स्थितिमा नरहेको बताएका छन् ।
‘कुनै समय हामी एउटै पार्टीमा थियौं । हामी त्यसलाई अस्वीकार गर्दैनौं । तर अहिले हामी धेरै टाढा पुगिसकेका छौं । प्रचण्डजी सरकारमा हुनुहुन्छ, हामी सडकमा छौं । हामी अहिले एकै ठाउँमा आएको पार्टी एकताका निम्ति होइन । शान्तिप्रक्रियामा समस्या आउने देखिएपछि माओवादी धारका आठ दलबीच हिजो संयुक्त विज्ञप्ति जारी गर्नेसम्म अवस्था बन्यो,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै गजुरेलले भने । उनले पार्टी एकतामा केही पनि प्रगति नभएको औंल्याए ।
संक्रमणकालीन न्यायको विषयलाई फौजदारी कानुन लगाउँदा शान्ति प्रक्रिया उल्टिने अवस्था आएको पनि गजुरेलले बताए । उनले भने, ‘द्वन्द्वकालमा हजारौं घटना भएका छन् । ती संक्रमणकालीन न्यायका मुद्दामा फौजदारी कानुन लगाएर सजाय गर्दा त शान्ति प्रक्रिया त उल्टिने भयो नि । देशमा शान्ति कायम गर्न विस्तृत शान्ति सम्झौता भएको हो । यो माओवादीको मात्र होइन, सबैको चासोको विषय हुनुपर्छ ।’
विगतमा आफूहरुले शान्ति प्रक्रियालाई उचित निष्कर्षमा पुर् याउन दिएको दबाब काम नलागेको पनि गजुरेलको टिप्पणी छ । उनले भने, ‘बेपत्ता छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगले समयमै काम गरेनन् । हामी डेलिगेसन पनि गयौं । उहाँहरुले निरीहता प्रकट गर्नुभयो । स्टाफ छैन, खर्च छैन, सरकारले कानुन बनाएर दिएको छैन भन्नुभयो । यो ढिलाइले पीडित पक्षलाई दुःखकष्ट हुने नै भयो । यस्तै हुँदा शान्ति प्रक्रिया डिरेल हुने खतरा बढ्यो । फेरि द्वन्द्व बढ्ने भयो ।’
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाँच हजार हत्याको जिम्मा लिन्छु भन्न नमिल्ने पनि गजुरेलले औंल्याए । उनले भने, ‘हामीले संख्याको हिसाब गरेका छैनौं । केही वर्षअघि प्रचण्डजीले सार्वजनिक सभामै पाँच हजारको जिम्मा लिन्छु भन्नुभयो । उहाँ जतिको मानिसले विचार गरेर बोल्नुपर्ने हो । यस्ता कुरामा सबै पक्ष जिम्मेवार हुनुपर्छ ।’