Logo

उपराष्ट्रपतिको मनोनयन आजः सत्ता गठबन्धनबाटै तीन आकांक्षी



काठमाडौं,फागुन २७ । निर्वाचन आयोगले उपराष्ट्रपति पदको निर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता गर्दै छ । उपराष्ट्रपति चयन गर्न ३ चैतमा निर्वाचन हुँदै छ ।

आयोगले उपराष्ट्रपति पदको उम्मेदवारी दर्ताका लागि आज बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्मको समय निर्धारण गरेको हो । सो समयभित्र संसद् भवन नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा उपराष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गर्न सकिने आयोगले जनाएको छ ।

उपराष्ट्रपति पदका लागि शुक्रबार साँझसम्म सत्ता गठबन्धनबाट तीन जनाको दाबी देखिएको छ । गठबन्धनबाट जनता समाजवादी पार्टीलाई उपराष्ट्रपति दिने सहमति भए पनि जसपासहितका तीन दलले दाबी गरेका हुन् ।

जसपाले बिहीबार नै पार्टीको संसदीय दलका नेतासमेत रहेका रामसहाय यादवलाई उपराष्ट्रपति पदमा उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर, शुक्रबार सत्ता गठबन्धनमा नै रहेका अन्य दुई दल नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीले पनि उपराष्ट्रपतिमा आफ्नो दाबी अघि सारेका हुन् ।

उन्मुक्ति पार्टीले उपराष्ट्रपतिमा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई अघि सार्ने तयारी गरेको भए पनि उनको उमेरका कारण उनलाई उपराष्ट्रपति पदमा उम्मेदवार बन्न सहज छैन । उपराष्ट्रपति बन्न ४५ वर्ष उमेर पूरा हुनुपर्छ । जनमत पार्टीले भने शुक्रबार नै ममता झालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

नेकपा एमालेले भने उम्मेदवारको टुंगो लगाएको छैन । एमालेले पार्टीको सचिवालय बैठकबाट आज उम्मेदवार तय गर्दै छ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्