Logo

‘राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, मुख्यमन्त्री सबै पदमा पुरुष राखेर महिला अक्षम र अयोग्य छन् भन्ने नजिर स्थापित गर्न मिल्छ ?’



काठमाडौं, २८ फागुन । नेकपा एमालेका नेता एवं सांसद महेश बर्तौलाले उपराष्ट्रपतिमा रामसहायप्रसाद यादवको उम्मेदवारी प्रचलित कानुन र संविधानविपरीत भएको दाबी गरेका छन् ।
‘हिजो उपराष्ट्रपति निर्वाचनको उम्मेदवार सूची हेर्दा रामसहायप्रसाद यादवको उम्मेदवारी प्रचलित कानुन र संविधान अनुरुप देखिएन । खसआर्य पुरुष राष्ट्रपति निर्वाचित भएको अवस्थामा उपराष्ट्रपति पनि पुरुष नै उठाउँदा संविधानको धारा १७ र धारा ३८ (५) को विपरीत हुन जान्छ भनेर हामीले रामसहायप्रसाद यादवको उम्मेदवारी खारेजी गरिपाऊँ भनी दाबी विरोध प्रस्तुत गरेका छौं,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै बर्तौलाले भने ।
एमालेको विरोध मधेस वा मधेसीविरुद्ध नभएको पनि उनले औंल्याए । बर्तौलाले भने, ‘राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, मुख्यमन्त्री सबै पुरुष भएपछि समतामुलक समाज कसरी निर्माण हुन्छ ? हामी कुनै व्यक्तिविरुद्ध होइन, पुरुषविरुद्ध उभिएका हौं । देशका ५१ प्रतिशत महिलाका पक्षमा उभिएका हौं । महिला अक्षम र अयोग्य छन् भन्ने नजिर स्थापित गर्न मिल्छ ? दुई जोडिएर आउने पदमा पुरुष मात्र आउनु संविधान र कानुनको स्प्रिटविपरीत हो । त्यसैले सत्ता गठबन्धनलाई हामीले कोही महिला उठाउनुस् भनेका हौं ।’
उपराष्ट्रपतिमा एमाले उम्मेदवार अष्टलक्ष्मी शाक्य योग्य व्यक्तित्व भएको पनि उनले बताए । बर्तौलाले भने, ‘उपराष्ट्रपतिमा हामीले प्रस्तुत गरेको उम्मेदवार राष्ट्रिय राजनीतिको टावरिङ पर्सानिलिटी हो । लोकतान्त्रिक आन्दोलनमा योगदान गरेको र मन्त्री, मुख्यमन्त्री भइसकेको व्यक्तित्व हो । उपराष्ट्रपतिको ओज कायम गर्न सक्ने व्यक्तित्व हो । ८८२ सांसदले भोट गर्दा पक्कै पनि देशलाई सम्झनुहुनेछ ।’



प्रतिक्रिया दिनुहोस्