Logo

च्याउको बजार खोज्दै तुलसा



दाङ, २८ फागुन । गरे के हुँदैन ? भन्ने भनाइ नेपाली समाजमा निकै सुनिन्छ । तर काम गरेर देखाउनेको सङख्या भने निकै कम हुन्छ । तर सामान्य काममा पनि निरन्तरको मेहनत र लगाव हुने हो भने स्वदेशमै पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेको छ दाङ तुलसीपुर उपमहानगरपालिका–६ मोतिपुरकी ५८ वर्षे तुलसा बुढा मगर ।

पछिल्लो डेढ दशकदेखि च्याउखेती गरिरहेकी मगरले हाल वार्षिक यसैबाट रू आठ लाखसम्म बचत गर्छिन् । चौध वर्ष स्वयम्सेविकाका रुपमा विभिन्न जिल्ला पुगी सेवा गरेको उनले चितवन च्याउखेती देखेपछि आफू यो खेतीतर्फ आकर्षित भएको बताए ।

दुई सन्तानकी आमा मगरलले शिक्षाका नाममा सामान्य लेखपढ मात्रै गरेको छ भने व्यवसायमा श्रीमानको राम्रो साथ पाएको छ । च्याउखेतीबाट राम्रो आम्दानी गरेकी उनीले केन्द्रीयस्तरका धेरै पुरस्कार समेत प्राप्त गरिसक्नु भएको छ । गत वर्ष तुलसीपुर उपमहानगरपालिले पनि उनलाई उत्कृष्ट महिला उद्यमीका रुपमा पुरस्कृत गरेको थियो ।

“धेरै महिला तथा पुरुष अहिले बेरोजगारी भए भन्दै विदेश जानुहुन्छ, तर स्वदेशमै पनि केही गर्न सकिन्छ”, उनले भने, “गाउँमै पनि थोरै लगानीमा आयआर्जनमूलक व्यवसाय गर्न सकिन्छ ।” उनले च्याउ बिक्रीबाट हालसम्म आफूले लाखोँ रकम बचत गरी पक्की घर तथा सम्पत्ति जोडिसकेको छ ।

विगत डेढ दशकदेखि च्याउखेतीमा संलग्न उनले अहिले च्याउ उद्योगमा चार जनालाई रोजगारी दिएको छ । एक सफल उद्यमी महिलाको रुपमा स्थापित भएकी मगरले उत्पादन गर्ने च्याउबाट अचार, सुकुटीलगायतका उत्पादन दाङ तथा जिल्ला बाहिर पनि जाने गरेको छ ।

“अबको चाहना आफूले उत्पादन गरेको सामग्री अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउने हो”, उनले भने,, “यसका लागि सबैको सहयोग आवश्यक छ ।” अहिले ताजा च्याउप्रति प्रतिकेजी रू दुई सयदेखि रू दुई सय बीससम्म बिक्री गर्नुहुन्छ । साथै च्याउको सुकुटी प्रतिकेजी रू तीन सयदेखि तीन सय ८० सम्म र च्याउको अचार प्रतिकेजी पाँच सयदेखि ६ सयसम्म बिक्री गदै आएको छ ।

अहिले च्याउको सिजन भएकाले पनि उनको उद्योगमा च्याउ खरिद गर्ने जानेको सङ्ख्या बढ्दो छ । उनी बिहानैदेखि बेलुकासम्म च्याउ बिक्रीमै व्यवस्त देखिन्छ ।

सुरुका दुई वर्षसम्म गङ्गामाला समूह खोलेर च्याउखेतीको सुरुआत गरेकी उनले हाल आफनै च्याउ प्रशोधन केन्द्र समेत सञ्चालन गर्नु भएको छ । रू तीन लाखबाट निजी च्याउ उद्योगको सुरुआत गरेकी उनले हालसम्म च्याउखेतीबाट गरेको आम्दानीले रू एक करोड मूल्य बराबरको पक्की घर खरिद तथा च्याउखेतीका लागि आवश्यक सामग्री खरिद गरेको छ ।

त्यसैगरी उनलाई उत्कृष्ट महिला उद्यमी भनि साना तथा मझौला उद्योगबाट निःशुल्क रुपमा च्याउ प्रशोधन मेसिनसमेत प्राप्त भएको छ । “अहिले आफनै च्याउ उद्योग तथा प्रशोधन केन्द्र सञ्चालनमा ल्याएकी छु । यसबाट पनि सफल भए जिल्लाका अन्य स्थानमा च्याउखेतीको तालिम दिन जाने योजना बनाएकी छु ।” रासस



प्रतिक्रिया दिनुहोस्