Logo

‘राष्ट्रिय सुरक्षाको क्षेत्र व्यापक’



काठमाडौं, फागुन ३०। प्रधानसेनापति प्रभुराम शर्माले शीतयुद्धपश्चातको परिवर्तित विश्वव्यवस्था तथा तीव्र गतिमा बढी रहेको विश्वव्यापीकरणले राष्ट्रिय सुरक्षाका क्षेत्रलाई व्यापक बनाउँदै लगेको बताएका छन् । उनले सो कुरा रक्षा मन्त्रालयले सञ्चालन गरेको उच्चस्तरीय राष्ट्रिय सुरक्षासम्बन्धी तालिमको सोमबार शुभारम्भ गर्दै सो कुरा बताएका हुन् ।

उनले राष्ट्रिय सुरक्षामा पैदा हुने बाह्य खतराको सामना गर्न सैन्य शक्तिको महत्व तथा आवश्यकता यथावत नै रहेको तथ्यलाई विश्वका धेरै घटनाक्रम र विशेषतः जारी रुस–युक्रेन युद्धले पुष्टि गरेको धारणा व्यक्त गरे।

नेपालको राष्ट्रिय सुरक्षा नीतिले राष्ट्रिय हितको अभिवृद्धि एवं राष्ट्रिय सुरक्षा सुदृढीकरणको दिशामा कोशेढुङ्गाको काम गर्ने बताउँदै प्रधानसेनापति शर्माले राष्ट्रिय हित, सुरक्षा, अन्तर्राष्ट्रिय सम्बन्धलगायतका महत्वपूर्ण विषयमा व्यापक अध्ययन, अनुसन्धान तथा अन्तरक्रियाका लागि आवश्यक राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सञ्चालनका लागि भौतिक संरचनाको निर्माण तीव्र रूपमा अघि बढी रहेको उल्लेख गरे।

तालिम उद्घाटनका अवसरमा सुरक्षा क्षमता, सीमा सुरक्षा प्रवद्र्धन, क्षेत्रीय सहयोग प्रवद्र्धन, आन्तरिक द्वन्द्वको सम्बोधन र विपद् न्यूनीकरणमा सबै निकायबीच साझा प्रयासको खाँचो औँल्याइएको छ ।

रक्षा मन्त्रालयका सचिव किरणराज शर्माले तालिमबाट राष्ट्रिय सुरक्षाका विभिन्न आयम र पक्षमा ज्ञान हासिल भई मन्त्रालय, विभाग र अरू निकायमा रणनीतिक नीति तर्जुमा गर्न मद्दत गर्ने विश्वास व्यक्त गरे ।

तालिममा विभिन्न मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग, सञ्चारमाध्यमलगायत सरकारी र गैरसरकारी निकायका वरिष्ठ अधिकारी ३० जनाको सहभागिता छ । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्