काठमाडौं, ५ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार(भोलि) विश्वासको मत लिने भएका छन्। दाहालले संसद सचिवालयलाई पत्र काटेर सोमबार विश्वासको मत लिने जानकारी गराएका थिए।
सोही जानकारी आइतबार बसेको संसद बैठकमा सभामुख देवराज घिमिरेल सोमबार १ बजे संसद बैठक बस्ने र सो बैठकमा प्रधानमन्त्री दाहालले विश्वासको मत लिने संसद्मा रुलिङ् गरेका छन्।
पुष १० गते प्रधानमन्त्री भएपछि दाहालले पहिलो पटक पुष २६ गते विश्वासको मत लिएका थिए। त्यतिबेला संसद्का शिर्ष दलसहित अधिकांश दलले दाहाललाई विश्वासको मत दिएका थिए।
राष्ट्रपतिको निर्वाचनकाबीचमा सत्ता समिकरण फेरिएपछि नेकपा एमाले र राप्रपा सरकारबाट बाहिरिएसँगै सरकारलाई दिएको समर्थनपनि फिर्ता लिएका थिए।
सरकारलाई समर्थन दिएको दलले समर्थन फिर्ता लिए ३० दिनभित्र सरकारले पुन: विश्वासको मत लिनुपर्ने कानूनी ब्यवस्थाअनुसार प्रधानमन्त्री दाहाल सोमबार १ बजे विश्वासको मत लिने भएका हुन्।
सत्ता समिकरण फेरिएसँगै सत्ता गठबन्धनपनि फेरिदाँ हाल नेपाली कांग्रेस नेतृत्वमा रहेको सत्ता गठबन्धनमा १० दलको सहभागीता छ।
शनिबार साझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको १० दलीय गठबन्धनले पनि प्रधानमन्त्रीको विश्वासको मत र संक्रमणकालिन न्यायको विधेयकमा एक भएर जाने निर्णय गरेको छ।
यस्तै, सत्ता गठबन्धन रहेको नेपाली कांग्रेस र एकीकृत समाजवादीले पार्टीमा निर्णय नै गरेर विश्वासको मत दिने भएका छन भने गठबन्धनमा नरहेको राष्ट्रिय स्वतन्त्र पार्टीलेपनि आज पार्टीको निर्णय गर्दै प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने भएको छ।
१० दलीय सत्ता गठबन्धनमा हाल नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, लोसपा, जनमत, नाउपा, नेसपा, जनमोर्चा र आजपा रहेका छन्। यी दलहरुले दाहाललाई विश्वासको मत दिँदा दाहाल दोस्रो पटक विश्वासको मत पाउनेमा ढुक्क छन्।
प्रधानमन्त्री दाहाललाई एमाले र राप्रपा भने विश्वासको मत नदिने पक्षमा रहेका छन्।