Logo

सरकारको नेतृत्वमा उपसभापति पूर्णबहादुर खड्काको दाबेदारी स्वाभाविक : खतिवडा



काठमाडौं, ६ चैत । नेपाली कांग्रेसका प्रभावशाली नेता एवं सांसद रामहरि खतिवडाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्मा अत्यधिक विश्वासको मत पाउने दाबी गरेका छन् ।
‘पुस २६ मा प्रचण्डले ९७ प्रतिशत मत प्राप्त गर्नुभएको थियो । प्रधानमन्त्रीलाई रबर स्ट्याम्प बनाउनु हुँदैन भनेर हामीले विश्वासको मत दिएका थियौं । त्यसकै बलमा हामीले गठबन्धनलाई पुनर्जीवन दियौं । तीन महिनाभित्र प्रचण्डले फेरि विश्वासको मत लिँदै हुनुहुन्छ । उहाँले अत्यधिक मत पाउनुहुन्छ र यही गठबन्धन पाँच वर्ष निरन्तर अगाडि जान्छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै खतिवडाले भने ।
अब गठबन्धन दलहरुले हामीले राम्रो मन्त्रालय पाएनौं भनेर किचमिच गर्ने बेला नभएको पनि उनले औंल्याए । खतिवडाले थपे, ‘अब हाम्रा निम्ति पद र पार्टीको स्वार्थभन्दा पनि मुलुकको संविधान र संसद महत्त्वपूर्ण हुनेछ । अब कसैले पनि संसदलाई चौबाटोमा ल्याएर फाल्ने काम गर्न सक्दैन । हामी सानातिना कुरामा झगडा गरेर बस्दैनौं । २५ वटा मन्त्रालयमा गृह, भौतिक विकास, ऊर्जा, अर्थ जस्ता मालदार मन्त्रालय खोज्ने होइन कि काम गरेर देखाउने बेला आएको छ । अब पनि हामीले केही गरेनौं भने हामी पशुको शरीरको किर्ना मात्र ठहरिने छौं ।’
कांग्रेसबाट सरकारको नेतृत्वमा पार्टी उपसभापति पूर्णबहादुर खड्काको स्वाभाविक दाबेदारी रहने खतिवडाले प्रस्ट पारे । उनले भने, ‘उपसभापति खड्का २०६४ पछि निरन्तर पार्टीको काममा मात्रै हुनुहुन्छ । उहाँ विवादरहित पनि हुनुहुन्छ । उहाँले चाहनुभयो भने अरुले नेतृत्व गर्ने अवस्था रहँदैन । सभापतिले पार्टीमा गुटबन्दी सबैलाई मिलाएर लाने अवस्थामा प्रकाशमान, विमलेन्द्र, शेखर कोइराला पनि स्वाभाविक दाबेदार हुनुहुन्छ । यिनै नेताहरु जान नचाहे दोस्रो पुस्ताका अरु नेताहरुले नेतृत्व गर्ने अवस्था छ ।’ सांसद खतिवडाले चैत ७ देखि १० भित्र नयाँ मन्त्री आउने पनि बताए ।
मुलुक संघीयतामा गए पनि प्रदेशमा फजुल खर्च भइरहेको टिप्पणी पनि सांसद खतिवडाले गरे । उनले भने, ‘समयभन्दा चाँडै बोलेजस्तो लाग्ला । तर संघीयतामा जाँदा हामी धेरै लचक भयौं । माओवादीको बन्दुक र मधेसवादीका त्रासका कारण सहमतिका निम्ति जे पनि गर्यौं । नेपालजस्तो सानो मुलुकमा यस्तो खालको संघीयता त्यति बढ्ला जस्तो लाग्दैन ।’



प्रतिक्रिया दिनुहोस्