काठमाडौं, ११ चैत्र । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ०८४ सालमा हुने आम निर्वाचनमा आफ्नो पार्टी एक्लै चुनाव लड्ने बताएका छन् । उनले चुनावमा कसैसँग पनि तालमेल वा मोर्चा नगर्ने स्पष्ट पारेका हुन् । पार्टीको क्षेत्रीय समितिले आज (शनिबार) भैरहवामा गरेको अन्तरक्रियामा बोल्दै थापाले यस्तो बताएका हुन् ।
उनले भने,‘२०८४ सालको निर्वाचनमा १६५ वटै निर्वाचन क्षेत्रमा एक्लै लड्ने गरी अगाडि बढ्नुपर्छ । अहिले नेपाली कांग्रेसलाई जराबाटै मजबुत बनाउनुपर्छ र २०८४ सालमा जतिवटा मोर्चा बने पनि कांग्रेस एक्लै चुनाव लड्नुपर्छ, ८ लाख पार्टी सदस्य भएको र ३ सय स्थानीय सरकारको नेतृत्व गरिरहेको ठूलो पार्टी अर्को चुनावमा अन्य पार्टीलाई मत हाल्न नपरोस् भन्ने गरी अघि बढ्नुपर्छ ।’