Logo

१० वर्षपछि मुलुकलाई चाहिने जनशक्ति नै नहुन सक्छः समाजशास्त्री



काठमाडौं, ११ चैत । समाजशास्त्री राम गुरुङले परिवार र पेसासम्बन्धी अवधारणामा परिवर्तनका आएका कारण २०७८ को जनगणनामा १५ वर्षमुनिका बालबालिकाको संख्या कमी भएको औंल्याएका छन् ।
‘जनगणनामा बालबालिकाको संख्या घट्नुमा विभिन्न कारण हुन सक्छन् । एउटा, परिवारसम्बन्धी अवधारणामा परिवर्तन आएको छ । पेसामा परिवर्तन आएको छ । शिक्षा र जीवनशैलीमा परिवर्तन आएको छ । दम्पतीको प्राथमिकता सन्तान जन्माउनेभन्दा व्यावसायिक करिअरमा छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै गुरुङले भने ।
समाजशास्त्री गुरुङले पेसालाई धेरै महत्त्व दिएकाले दम्पतीले सन्तान जन्माउने समय घर्किएको पनि बताए । उनले भने, ‘पहिले बुढेसकालमा आर्थिक सुरक्षा चाहिएकाले चाँडै बच्चा जन्माउथे । अहिले सन्तान जन्माउने र हुर्काउने कुरा पहिलेको तुलनामा महँगो भएको छ । त्यसैले दम्पतीले बच्चा बनाउने समय धकेलिरहेको छ । त्यसैले पनि १५ वर्षमुनिका बच्चा घटेका हुन् ।’
३४ प्रतिशत जनसंख्या काम नगरी बसेको तथ्यांक आउनु बुढाबुढीको संख्या बढ्नु रहेको पनि उनले बताए । गुरुङले थपे, ‘अहिले स्वास्थ्य सेवामा पहुँच बढेकाले मानिसको आयु लम्बियो । ६० वर्षभन्दा माथिलाई सेवा निवृत्त गर्ने चलन छ ।’ सरकारले नागरिक जहाँ बसिरहेको हो, राज्यले त्यहाँ अडिने वातावरण बनाउन नसक्दा बसाइँसराइ बढेको पनि उनले औंल्याए ।
बालबालिकाको संख्या घट्दै जाँदा अबको १० वर्षपछि मुलुकलाई चाहिने जनशक्ति नै नहुने अवस्था आउनु चिन्ताजनक भएको पनि उनले बताए । समाजशास्त्री गुरुङले थपे, ‘अहिले गाउँमा ५० वर्षभन्दा माथिका मानिस ज्यादा छन् । त्योभन्दा तलका मानिस प्रायः वैदेशिक रोजगारीमा छन् । राज्य युवालाई देशमा टिकाउने जिम्मेवारीबाट पर पर भागिरहेको छ । शिक्षा र सीपका हिसाबले मुलुकलाई जुन जनशक्ति चाहिन्छ, त्यो उत्पादनै नहुने जोखिम छ ।’



प्रतिक्रिया दिनुहोस्