Logo

‘सबै प्रदेशको नाम ठीक हुने, कोसीको नहुने हुन्छ र ?’



काठमाडौं, १२ चैत । नेपाली कांग्रेसका नेता एवं सांसद दीपक खड्काले सरकारमा सामेल हुने दलहरुको मन्त्रालयगत भागबन्डा टुंगिसकेको बताएका छन् ।
‘अहिले गठबन्धनमा धेरै वटा दल छन् । सबैसँग छलफल गर्दा मन्त्रिपरिषद् विस्तारको काम लम्बिएको हो । मन्त्रालयमा लगभग समझदारी भइसकेको छ । सोमबार, मंगलबारभित्र मन्त्रिपरिषद् विस्तार छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै खड्काले भने ।
नेता खड्काका अनुसार सरकारमा कांग्रेसले ८, माओवादी केन्द्रले ५, जनता समाजवादी पार्टीले २–२ र लोकतान्त्रिक समाजवादी पार्टी, जनमत र नागरिक उन्मुक्तिले १–१ मन्त्रालय पाउने छन् । तर त्यसमा साना दलले चित्त नबुझाएको पनि उनले बताए । खड्काले भने, ‘गठबन्धनमा सामेल सबै साना दललाई समेट्नुपर्ने अवस्था त । तर हामीसँग मन्त्रालय थोरै छन् । माधव नेपालले तीनवटा मन्त्रालय भनिरहनुभएको छ, दुइटा दिने तयारी छ । सबै दल आआफ्ना मन्त्री पठाउने तयारीमा जुटेका छन् ।’ गठबन्धन दलहरुमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी चुनावपछि सामेल हुने र चित्रबहादुर केसीका पार्टी सकारमा नजाने उनले बताए ।
पार्टी पूर्णबहादुर खड्का वा कुनै शीर्ष नेताको नेतृत्वमा सरकारमा जाने पनि उनले बताए । खड्काले थपे, ‘कसको नेतृत्वमा जाने भन्ने अहिलेसम्म तय भएको छैन । शेखर कोइरालाले नजाने भन्नुभएको छ । दुईतीन चरणको सरकार निर्माण हुने भएकाले एकचोटि नभएको नाम अर्को चोटि हुने सम्भावना हुन्छ । उपसभापति पूर्णबहादुर खड्का वा कुनै शीर्ष नेताको नेतृत्वमा सरकारमा जाला ।’ सरकारमा उपप्रधानमन्त्री नराखीकन जान सकिने पनि खड्काले बताए ।
कोसी प्रदेशको नाममा विवाद गर्नु आवश्यक नरहेको पनि उनले बताए । खड्काले भने, ‘भूगोल पनि पहिचान नै हो, जातका आधारमा मात्र होइन । आआफ्नो मुद्दा राख्नु लोकतान्त्रिक अधिकार हो । तर सबै समस्या वार्ताबाटै टुंग्याउनुपर्छ । सबै प्रदेशको नाम ठीक हुने, कोसीको नहुने कहाँ हुन्छ र ?’

 



प्रतिक्रिया दिनुहोस्