Logo

शेखर कोइराला र गगन थापाले सभापतिसँग तीनवटा मन्त्रालय लिनुपर्छः कांग्रेस सहमहामन्त्री



काठमाडौं, १४ चैत । नेपाली कांग्रेसका सहमहामन्त्री एवं सांसद जीवन परियारले सरकारमा पार्टी उपसभापति पूर्णबहादुर खड्काको नेतृत्व स्वाभाविक भएको बताएका छन् ।
‘सरकारमा पार्टीको नेतृत्वबारे छलफल भएको छैन । आज बस्ने भनिएको केन्द्रीय कार्यसम्पादन समितिको बैठक चैत १६ का लागि सरेको छ । मन्त्रालयको संख्या टुंगिएपछि नेताहरु बसेर छलफल गर्नु होला । सरकारको नेतृत्वमा पूर्णबहादुर खड्काले बाजी मार्नु अस्वाभाविक हो र ? उहाँ पार्टीको उपसभापति हुनुहुन्छ, अनुभवी हुनुहुन्छ । जिम्मेवार नेता हुनुहुन्छ । हामीले कांग्रेसको मात्रै फाइदाभन्दा पनि मुुलुकलाई कसरी फाइदा हुन्छ, त्यो हेर्नुपर्छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै परियारले भने ।
कांग्रेस सहमहामन्त्री परियारले संसद्मा भएको उपस्थिति अनुसार आफ्नो पार्टीले मन्त्रालय पाउनुपर्ने पनि औंल्याए । उनले भने, ‘गठबन्धन दलहरुमा मन्त्रालयभन्दा पनि संख्याका बारेमा विवाद सुनेको हुँ । संख्या संसदमा भएको उपस्थिति अनुसार नेपाली कांग्रेसले ८ देखि ९ मन्त्रालय पाउनुपर्ने हो । कांग्रेसको बटमलाइन आठ मन्त्रालय छाड्नुहुँदैन भन्ने छ । मन्त्रिपरिषद्मा पठाउने सामान्य मापदण्ड बनाएका छौं । नेतृत्वले सुझबुझपूर्ण निर्णय गर्ला ।’
डा. शेखर कोइरालाले तीनवटा मन्त्रालय लिनुपर्छ भन्नु अस्वाभाविक नभएको उनको टिप्पणी छ । परियारले भने, ‘गिरिजाप्रसाद र सुशील कोइरालाको पालामा पनि शेरबहादुर देउवाले त्यसरी नै दाबी गर्नुहुन्थ्यो भन्ने कुरा बिर्सन मिल्दैन । अब कुन कुन मन्त्रालय लिने भन्नेमा शेखर र गगन थापाले चासो दिनुपर्छ ।’
साथै उनले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा दलितको अनिवार्य रुपमा प्रतिनिधित्व हुनुपर्नेमा नेता परियारले जोड दिए । उनले भने, ‘म मन्त्री बन्ने नबन्ने भन्दा पनि यो सरकारमा दलितको अनिवार्य प्रतिनिधित्व हुनुपर्छ । मुलुकको १४ प्रतिशत जनसंख्या ओगटेको दलित समुदाय मन्त्रिपरिषदबाट विमुख हुनुहुँदैन । जुनसुकै पार्टीबाट भए पनि एकजना क्याबिनेट मन्त्री हुनुपर्छ । यसमा सबै दलले सोच्नुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्